निकेश खनाल
बर्दिबास
टीभीएस मोटर कम्पनीले नेपाली बजारका लागि नयाँ विद्युतीय स्कुटर टीभीएस अर्बिटर बर्दिबासमा सार्वजनिक गरेको छ। कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालिले बर्दिबासस्थित आधिकारिक विक्रेता न्यु जानकी अटो इन्टरप्राइजेजमार्फत अर्बिटर सार्वजनिक गरेको हो।
दैनिक सहरी यात्रालाई लक्षित गरी तयार पारिएको टीभीएस अर्बिटरमा ३.१ किलोवाट घण्टाको ब्याट्री रहेको छ। कम्पनीका अनुसार यसले एक पटकको चार्जमा १५८ किलोमिटरको आईडीसी रेन्ज प्रदान गर्छ। स्कुटरको मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकिएको छ।
अर्बिटरको मुख्य विशेषतामध्ये उद्योगमै पहिलो दाबी गरिएको १४ इन्चको अगाडिको पाङ्ग्रा, हिल होल्ड असिस्ट, क्रुज कन्ट्रोल र पार्किङ असिस्ट रहेका छन्। ठूलो पाङ्ग्राले सहरी सडकमा स्थिरता, ग्रिप र सहज नियन्त्रणमा सहयोग गर्ने कम्पनीको दाबी छ।
स्कुटरमा ३४ लिटर क्षमताको अन्डर–सिट भण्डारण रहेको छ, जसमा दुईवटा हेल्मेट राख्न सकिने बताइएको छ। त्यस्तै, ८४५ मिलिमिटर लामो फ्ल्याटफर्म सिट, २९० मिलिमिटरको सीधा फुटबोर्ड र १६९ मिलिमिटरको ग्राउन्ड क्लियरेन्सले चालक तथा पछाडि बस्ने यात्रुलाई सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ।
टीभीएस अर्बिटरमा कनेक्टेड मोबाइल एप, कल तथा सन्देशको सूचना देखाउने रङ्गीन एलसीडी डिजिटल क्लस्टर, भाइजरसहितको अगाडिको एलईडी हेडलाइट, एज-टु-एज फ्रन्ट लाइट, यूएसबी चार्जिङ तथा ओटीए अपडेटजस्ता सुविधा रहेका छन्।
सुरक्षातर्फ दुर्घटना, स्कुटर ढलेको, चोरी, जियोफेन्स तथा टाइमफेन्ससम्बन्धी सूचना दिने सुविधा समावेश गरिएको छ। मोबाइल एपमार्फत ब्याट्रीको चार्ज अवस्था तथा ओडोमिटर जाँच गर्न सकिने कम्पनीले जनाएको छ। स्कुटरमा इको र सिटी गरी दुईवटा राइडिङ मोड तथा रिजेनेरेटिभ ब्रेकिङको सुविधा पनि छ।
सार्वजनिक कार्यक्रममा न्यु जानकी अटो इन्टरप्राइजेज बर्दिबासका प्रबन्ध निर्देशक रामनारायण साह र जगदम्बा मोटर्सका क्षेत्रीय व्यवस्थापक अर्जुन खनालले संयुक्त रूपमा टीभीएस अर्बिटर सार्वजनिक गरेका थिए।
सो अवसरमा प्रबन्ध निर्देशक साहले बर्दिबासमा टीभीएस अर्बिटर सार्वजनिक गर्न पाउँदा आफूहरू उत्साहित रहेको बताउँदै टीभीएस आइक्युबको सफलतापछि अर्बिटरले नेपालको विद्युतीय दुईपाङ्ग्रे बजारमा कम्पनीको उपस्थितिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
जगदम्बा मोटर्सका क्षेत्रीय व्यवस्थापक खनालले नेपाली उपभोक्ताको आवश्यकता र नेपालको विविध सडक तथा भौगोलिक अवस्थालाई ध्यानमा राखेर अर्बिटर तयार गरिएको बताए। उनका अनुसार आकर्षक डिजाइन, आधुनिक प्रविधि, आराम, उपयोगिता र ऊर्जा दक्षतालाई स्कुटरमा एकीकृत गरिएको छ।
टीभीएस अर्बिटर नियोन सनबर्स्ट, कस्मिक टाइटेनियम र मार्सियन कपर गरी तीन रङमा उपलब्ध हुने जनाइएको छ।
कम्पनीका अनुसार अर्बिटरमा उन्नत वायुगतिकीय डिजाइन प्रयोग गरिएको छ, जसले ऊर्जा दक्षता र स्थिरता सुधार गर्न सहयोग पुर्याउँछ। बलियो बडी, पर्याप्त ग्राउन्ड क्लियरेन्स र कनेक्टेड सुरक्षा सुविधाका कारण नेपाली सडकका लागि समेत उपयुक्त हुने कम्पनीको दाबी छ।
जगदम्बा मोटर्सको देशव्यापी बिक्री तथा सेवा सञ्जालमार्फत ग्राहकलाई बिक्रीपछिको सेवा उपलब्ध गराइने जनाइएको छ। टीभीएस मोटर कम्पनीले विद्युतीय मोबिलिटीलाई विस्तार गर्ने क्रममा अर्बिटरलाई नेपाली बजारमा महत्वपूर्ण उत्पादनका रूपमा अघि सारेको हो।
