संघीय कर्मचारीलाई १५ दिनमै तलब उपलब्ध गराउन सरकारको निर्देशन

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमाडौँ

संघीय सरकारअन्तर्गत कार्यरत राष्ट्रसेवक कर्मचारीलाई अब प्रत्येक १५ दिनमा तलबभत्ता उपलब्ध गराउने व्यवस्था कार्यान्वयन गर्न महालेखा नियन्त्रक कार्यालयले सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

महालेखा नियन्त्रक कार्यालयले सोमबार कोष तथा लेखा नियन्त्रक कार्यालयहरू, निवृत्तभरण व्यवस्थापन कार्यालय तथा कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्राचार गर्दै कर्मचारीको तलबभत्ता अर्धमासिक रूपमा भुक्तानी गर्न आग्रह गरेको हो।

अर्थमन्त्रीस्तरबाट २०८३ वैशाख ४ गते जारी गरिएको नीतिगत मार्गदर्शनअनुसार संघीय सरकारअन्तर्गतका निकायमा कार्यरत राष्ट्रसेवकले १५ दिन सेवा गरेपछि तलबभत्ता पाउने व्यवस्था कार्यान्वयन गर्न भनिएको छ।

त्यसैगरी, आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा उल्लेख गरिएको कर्मचारी प्रोत्साहन भत्तासमेत उपलब्ध गराउन महालेखा नियन्त्रक कार्यालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ।

कोष तथा लेखा नियन्त्रक कार्यालयको कार्यक्षेत्रभित्र पर्ने संघीय सरकारी निकायहरूले उक्त व्यवस्था कार्यान्वयन गरी कर्मचारीलाई नियमित रूपमा अर्धमासिक तलबभत्ता उपलब्ध गराउनुपर्ने पत्रमा उल्लेख गरिएको छ।

नयाँ व्यवस्थाले सरकारी कर्मचारीको तलब भुक्तानीलाई नियमित र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...