आज्ञा खबर
जनकपुरधाम
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या उल्लेख्य रूपमा वृद्धि भएपछि बाघ संरक्षण र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय मापदण्डअनुसारको प्रमाणीकरण प्रक्रिया अघि बढाइएको छ।
सन् २०२२ मा ४१ वटा वयस्क बाघ रहेको पर्सा राष्ट्रिय निकुञ्जमा सन् २०२६ को गणनाअनुसार बाघको संख्या ७१ पुगेको छ। बाघको संख्या बढ्नु संरक्षण क्षेत्रमा महत्वपूर्ण उपलब्धि भए पनि यसलाई दीर्घकालसम्म कायम राख्न बासस्थान, आहार, सुरक्षा, वैज्ञानिक अनुगमन र स्थानीय समुदायको सहभागितामा समेत सुधार आवश्यक रहेको संरक्षणकर्मीहरूले बताएका छन्।
यही उद्देश्यले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आयोजनामा पर्सा राष्ट्रिय निकुञ्जमा संरक्षण व्यवस्थापनसम्बन्धी कार्यशाला सम्पन्न भएको छ। कार्यशालामा विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्य, पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडा, जेडएसएल नेपालका प्रतिनिधि, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, सुरक्षा निकाय, निकुञ्जका कर्मचारी, उपभोक्ता समिति तथा स्थानीय सरोकारवालाको सहभागिता थियो।
कार्यशालामा संरक्षण व्यवस्थापनको वर्तमान अवस्था पहिचान, स्वमूल्याङ्कन, सुधारका क्षेत्र निर्धारण, आवश्यक प्रमाण संकलन तथा सम्बन्धित निकायबीच समन्वयका विषयमा छलफल गरिएको प्रमुख संरक्षण अधिकृत खतिवडाले जानकारी दिए।
वरिष्ठ इकोलोजिस्ट आचार्यले बाघको संख्या बढ्नु मात्रै संरक्षण सफलताको पूर्ण सूचक नभएको बताए। बाघको संख्या दीर्घकालसम्म स्थिर राख्न पर्याप्त बासस्थान, आहारको उपलब्धता, चोरी–सिकार नियन्त्रण, सुरक्षा र प्रभावकारी व्यवस्थापन प्रणाली आवश्यक रहेको उनको भनाइ थियो।
उनले बाघ संरक्षणलाई केवल बाघको संख्या गणनामा सीमित नगरी बासस्थान व्यवस्थापन, वैज्ञानिक अनुगमन, मानव–बाघ द्वन्द्व न्यूनीकरण, पर्यटन व्यवस्थापन र स्थानीय समुदायको सहभागितासहित समग्र रूपमा हेर्नुपर्ने बताए।
पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत खतिवडाका अनुसार पछिल्लो चार वर्षमा निकुञ्जमा बाघको संख्या ४१ बाट बढेर ७१ पुगेको छ। संरक्षणको यो उपलब्धिसँगै मानव र बाघबीच सुरक्षित सहअस्तित्व कायम गर्नु अबको प्रमुख चुनौती रहेको उनले बताए।
स्थानीय समुदायले संरक्षणबाट प्रत्यक्ष लाभ प्राप्त गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै खतिवडाले निकुञ्जको ‘बाघ मित्र अभियान’लाई संरक्षण व्यवस्थापनको प्रक्रियासँग जोडेर मानव–बाघ द्वन्द्व न्यूनीकरण, समुदायको सुरक्षा, जनचेतना र सहभागितालाई थप प्रभावकारी बनाउन सकिने बताए।
प्रमाणीकरण प्रक्रियालाई निकुञ्जले केवल प्रमाणपत्र प्राप्त गर्ने औपचारिक कार्यका रूपमा नभई निकुञ्ज प्रशासन, मध्यवर्ती क्षेत्र, सुरक्षा निकाय, संरक्षण साझेदार र स्थानीय समुदायको साझा अभियानका रूपमा अघि बढाउने तयारी गरिएको छ।
प्रक्रियाअन्तर्गत स्वमूल्याङ्कन, सुधार योजना निर्माण, आवश्यक दस्तावेज तयारी, राष्ट्रिय समीक्षा, स्वतन्त्र मूल्याङ्कन हुँदै अन्तर्राष्ट्रियस्तरको निर्णयसम्मका चरण पूरा गरिने जनाइएको छ।
आगामी दिनमा बाघको बासस्थान र आहार संरक्षण, चोरी–सिकार नियन्त्रण, स्मार्ट पेट्रोलिङ, मानव–बाघ द्वन्द्व व्यवस्थापन, वैज्ञानिक अनुगमन तथा समुदायको सहभागितालाई प्राथमिकतामा राखिने निकुञ्जले जनाएको छ।
बाघको संख्या बढिरहेको अवस्थामा संरक्षण व्यवस्थापनलाई थप वैज्ञानिक, व्यवस्थित र दीर्घकालीन बनाउन अन्तर्राष्ट्रिय मापदण्डअनुसारको यो प्रक्रिया महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
