आज्ञा खबर
उदयपुर
उदयपुरगढी गाउँपालिकामा सुनका गहना सफा गरिदिने प्रलोभन देखाएर ठगी तथा चोरी गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा भारतको बिहार राज्यका गोविन्द साह र सचिन साह रहेका छन्। उनीहरूले ग्रामीण महिलाहरूलाई सुनका गहना चम्काइदिने भन्दै विश्वासमा पारेर स्थानीय पेसलकुमारी मगर र मनमाया तामाङको घरबाट सुनका गहना चोरी गरेको आरोप लागेको प्रहरीले जनाएको छ।
घटनापछि पीडित महिलाले प्रहरी चौकी उदयपुरगढीमा उजुरी दिएपछि प्रहरी टोली परिचालन गरिएको थियो। अनुसन्धानका क्रममा दुवै आरोपितलाई उदयपुरगढी क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।
