आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिकाले नगरभित्रको शान्ति सुरक्षालाई सुदृढ पार्ने उद्देश्यले विभिन्न स्थानमा सिसिटिभी क्यामेरा जडान गरी सञ्चालनमा ल्याएको छ। शुक्रबार इलाका प्रहरी कार्यालय, बर्दिवासको समन्वयमा आयोजित “सुरक्षित नगर निर्माणार्थ सिसिटिभी प्रणाली जडान तथा सञ्चालन उद्घाटन कार्यक्रम“मा नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले सिसिटिभी प्रणालीको स्विच अन गर्दै यसको औपचारिक शुभारम्भ गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख क्षेत्रीले बर्दिवास नगरपालिका मधेश प्रदेशकै एक महत्वपूर्ण केन्द्रका रूपमा विकसित हुँदै गएकाले यहाँ विकाससँगै अपराध नियन्त्रणलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए। “बर्दिवास चौतारिको केन्द्र हो, यहाँ दैनिक हजारौँ मानिसहरूको आवतजावत हुन्छ, यस्तो अवस्थामा प्रहरी अझ चनाखो बन्नुपर्ने छ,“ क्षेत्रीले भने।
उनले नगरको मुख्य स्थानहरूमा सिसिटिभी प्रणाली जडान गर्नुको पछाडि मानव सुरक्षालाई प्राथमिकता दिएको जनाउँदै प्रहरीले सिफारिस गरेका थप स्थानहरूमा पनि क्यामेरा जडान गर्न नगरपालिकाले प्रतिबद्धता जनाइसकेको बताए।
कार्यक्रममा प्रमुख प्रशासनिक अधिकृत राममणि अधिकारीले सुरक्षित बर्दिवास बनाउने जिम्मेवारी नगरपालिकाको प्रमुख कर्तव्य भएको बताए। “नगर क्षेत्रलाई सुरक्षित राख्न हामी इलाका प्रहरी कार्यालयसँग सहकार्य गर्दै आएका छौँ,“ अधिकारीले भने, “अघिल्लो चरणमा केही कमजोरी देखिएको क्यामेरा प्रणालीलाई सुधार गरेर यो नयाँ प्रयास थालिएको हो।“
कार्यक्रममा सेभ द चिल्ड्रेन क्षेत्रीय कार्यालय, बर्दिवासकी निर्देशक धन भुषालले बालबालिकाको क्षेत्रमा मात्रै होइन, विपद् व्यवस्थापनमा समेत संस्था सक्रिय रहेको बताउँदै नगर सुरक्षामा योगदान दिन पाएकोमा खुशी व्यक्त गरिन्। उनले संस्थाको लक्ष्य, कार्यक्षेत्र र जिम्मेवारीका विषयमा समेत प्रकाश पारिन्।
इलाका प्रहरी कार्यालय, बर्दिवासका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) बिकाश बमले सिसिटिभी प्रणाली जडानको मुख्य उद्देश्य सुरक्षित नगर निर्माण रहेको स्पष्ट पारे। “अपराध अनुसन्धान नेपाल प्रहरीको मुख्य जिम्मेवारी हो,“ डीएसपी बमले भने, “तर अहिलेको चुनौतीपूर्ण समयले शान्ति, सुरक्षा र अमनचयनलाई प्राथमिकतामा राखेर कार्य गर्न बाध्य बनाएको छ।“
उनले सिसिटिभी क्यामेराले अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै यसको विस्तारका लागि नगरपालिकासँग निरन्तर समन्वय भइरहेको जानकारी दिए। “प्रहरीको एकल प्रयास मात्र पर्याप्त छैन, नगरवासीहरूको सहकार्यबिना सुरक्षित समाज सम्भव हुँदैन,“ बमले जोड दिए।
यस अवसरमा बर्दिवास नगरपालिका–१ स्थित रिसोना होटल नजिकको पुरानो हाटबजार जाने गल्ली, बर्दिवास–८ हातीलेट, राष्ट्रिय वाणिज्य बैंकको ठीक बिपरीत, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत माईस्थान क्षेत्रमा नयाँ सिसिटिभी क्यामेरा जडान गरिएको जनाइएको छ।
कार्यक्रमकै क्रममा सेभ द चिल्ड्रेन क्षेत्रीय कार्यालय, बर्दिवासले विपद् व्यवस्थापनका लागि इलाका प्रहरी कार्यालयलाई २० थान लाइफ ज्याकेट प्रदान गरेको छ। सो सामग्री संस्थाकी निर्देशक धन भुषालले डीएसपी बिकाश बमलाई हस्तान्तरण गरेकी थिइन्।
