आज्ञा खबर
बर्दिवास
सफलता केवल नतिजाको अंकमा सीमित हुँदैन, त्यसका पछाडि लुकेको हुन्छ अनगिन्ती संघर्ष, अनुशासन, निरन्तर अभ्यास र एउटा उज्यालो भविष्यको सपना। यही मेहनत र सफलतालाई समाजसामु सम्मानित गर्दै महोत्तरीको बर्दिवास नगरपालिकाभित्र यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सार्वजनिक रूपमा सम्मान गरिएको छ।

हाम्रो साझा दायित्व संस्था बर्दिवास, आज्ञा खबर मिडिया प्रालि बर्दिवास तथा कान्तिपुर मिडिया सर्भिसको संयुक्त आयोजनामा सम्पन्न उत्कृष्ट बिद्यार्थी सम्मान कार्यक्रम केवल सम्मान समारोहमा सीमित रहेन, यसले शिक्षा, प्रेरणा र सामाजिक उत्तरदायित्वबीचको सम्बन्धलाई थप गहिरो रूपमा उजागर गर्यो।
बर्दिवास उद्योग वाणिज्य संघको सभाहलमा शनिवार आयोजित कार्यक्रममा नगरका अभिभावक, शिक्षासेवी, विद्यार्थी तथा स्थानीय अगुवाको उपस्थिति थियो। कार्यक्रमस्थलमा सम्मान ग्रहण गर्न पुगेका विद्यार्थीहरूको आत्मविश्वासपूर्ण मुस्कान र अभिभावकहरूको अनुहारमा झल्किएको सन्तुष्टिले एउटा स्पष्ट सन्देश दिइरहेको थियो— शिक्षामा गरिएको लगानी कहिल्यै व्यर्थ जाँदैन।
यस वर्ष उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीमध्ये बर्दिवास–१ स्थित देउराली माध्यमिक विद्यालयका छात्र सक्षम खतिवडा, बर्दिवास–३ गौरीडाँडा स्थित जनता माध्यमिक विद्यालयकी छात्रा स्मृति पराजुली तथा बर्दिवास–६ स्थित शैक्षिक आवासीय महाविद्यालयमा अध्ययनरत छात्रा शीतल अधिकारीलाई खादा, अबिर तथा सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले विद्यार्थीहरूलाई सम्मान गर्दै उनीहरू बर्दिवासको गौरव भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार शिक्षा केवल व्यक्तिगत उन्नतिको माध्यम नभई समृद्ध समाज निर्माणको जग हो। मेहनत, अनुशासन र लक्ष्यप्रतिको स्पष्ट प्रतिबद्धताले मात्र सफलता सम्भव हुने उल्लेख गर्दै उहाँले सम्मानित विद्यार्थीलाई आगामी अध्ययन यात्राका लागि शुभकामना व्यक्त गर्नुभयो।
नगर प्रमुख क्षेत्रीले स्थानीय तहले शिक्षा क्षेत्रको गुणस्तर सुधार तथा विद्यार्थीमैत्री वातावरण निर्माणका लागि निरन्तर काम गरिरहेको उल्लेख गर्दै यस वर्षको एस.ई.ई. परीक्षामा बर्दिवास नगरपालिकाले मधेश प्रदेशमै उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको दाबी गर्नुभयो। उहाँका अनुसार बर्दिवासले ८४ प्रतिशत नतिजा ल्याएर शैक्षिक उपलब्धिको नयाँ उदाहरण प्रस्तुत गरेको छ।
कार्यक्रममा बोल्दै बर्दिवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले उत्कृष्ट विद्यार्थीलाई सार्वजनिक रूपमा सम्मान गर्नु सकारात्मक सामाजिक संस्कारको सुरुआत भएको बताउनुभयो। “विद्यार्थीलाई उपलब्धिको कदर गरिँदा उनीहरूमा आत्मविश्वास बढ्छ, साथै अन्य विद्यार्थीलाई पनि मेहनत गर्न प्रेरणा मिल्छ,” भन्ने आशय व्यक्त गर्दै उहाँले यस्ता कार्यक्रमले प्रतिस्पर्धात्मक र जिम्मेवार पुस्ता निर्माणमा भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
वास्तवमा, समाजले विद्यार्थीको सफलतालाई कसरी हेर्छ भन्ने कुराले शैक्षिक वातावरण निर्माणमा गहिरो प्रभाव पार्छ। विद्यालयको कक्षाकोठाभित्र सीमित उपलब्धिलाई सार्वजनिक सम्मानमा रूपान्तरण गर्दा त्यसले एउटा सामाजिक मान्यता निर्माण गर्छ— मेहनतको मूल्य छ, शिक्षा सम्मानको विषय हो।
ग्रामीण तथा अर्धशहरी परिवेशमा कतिपय विद्यार्थी सीमित स्रोत, आर्थिक चुनौती र सामाजिक दबाबबीच अध्ययन गरिरहेका हुन्छन्। त्यस्तो अवस्थामा सार्वजनिक सम्मानले उनीहरूमा थप जिम्मेवारी र प्रेरणा थप्ने काम गर्छ। यसले अन्य विद्यार्थीमा पनि “म पनि गर्न सक्छु” भन्ने सकारात्मक प्रतिस्पर्धा विकास गराउँछ।

कार्यक्रममा बर्दिवास नगरपालिका का उप प्रमुख तारादेबी महतो, युवा, खेलकुद तथा शिक्षा शाखाका उपसचिव रेवती प्रसाद पराजुली, बर्दिवास नगरपालिका वडा नम्बर १४ का अध्यक्ष बिजय कुमार महतो,जिल्ला शिक्षा समन्वय कार्यालय महोत्तरीका प्रमुख निर्मल घिमिरे, बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बहादुर कार्की, महिला समाजसेवी उषा ढकाललगायतको उपस्थिति रहेको थियो।

हाम्रो साझा दायित्व संस्थाकी उपाध्यक्ष सुभद्रा भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उहाँले उत्कृष्ट विद्यार्थीहरूको मेहनत र सफलतालाई समाजसामु सम्मानित गर्दै शिक्षा क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

आजको समयमा शिक्षा केवल व्यक्तिगत सफलताको माध्यम मात्र नभई समाज परिवर्तनको शक्तिशाली आधारका रूपमा स्थापित भइरहेको छ।






