आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवासस्थित बर्दिवास बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५औं स्थापना दिवसको अवसरमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ।
‘रक्तदान जीवनदान’ भन्ने नारासहित आयोजित कार्यक्रममा २३ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेका थिए। कार्यक्रममा संस्थाका सञ्चालक, कर्मचारी, शेयर सदस्य तथा स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको थियो।
संस्थाका अनुसार रक्तदान कार्यक्रमबाट बिरामीलाई आवश्यक पर्ने रगतको अभाव न्यूनीकरण गर्न केही मात्रामा भए पनि सहयोग पुगेको विश्वास गरिएको छ।

संस्थाका अध्यक्ष सन्तोष कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालक समितिका पदाधिकारी, लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्य, विभिन्न उपसमितिका सदस्य, कर्मचारी र शेयर सदस्यहरूको उपस्थिति रहेको थियो।
स्थापना दिवसकै अवसरमा संस्थाले बर्दिवासस्थित सी आशा फाउन्डेशनद्वारा सञ्चालित आशा विशेष पाठशालामा अध्ययनरत करिब १९ जना बालबालिकाका लागि खाजा तथा खानाको व्यवस्थासमेत गरेको जनाएको छ।

संस्थाले १४ वर्ष सफलतापूर्वक पूरा गरी १५औं वर्षमा प्रवेश गरेको अवसरमा सम्पूर्ण शेयर सदस्य, नियामक निकाय तथा शुभेच्छुकहरूप्रति कृतज्ञता व्यक्त गरेको छ। साथै सदस्य तथा समुदायलाई केन्द्रमा राखेर वित्तीय र गैरवित्तीय सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै वर्तमान आर्थिक मन्दी, नियामकीय परिवर्तन तथा वित्तीय चुनौतीका बाबजुद असल अभ्यासमार्फत सदस्यहरूको आर्थिक तथा सामाजिक रूपान्तरणमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेको छ।






