औपचारिक अवकाशपछि पनि शिक्षाको यात्रामा निरन्तर सक्रिय अधिकारी

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास

सरकारी जागिरमा धेरैका लागि सेवा निवृत्त विश्रामको समय हुन सक्छ, तर बर्दिवास नगरपालिका–५ चेरुमा बसोबास गर्दै आउनुभएका वरिष्ठ शिक्षा प्रेमी नारायण प्रसाद अधिकारीका लागि अवकाश शिक्षाबाट टाढिने बिन्दु बनेन। बरु, औपचारिक जिम्मेवारीबाट मुक्त भएपछि पनि उहाँ सामुदायिक शिक्षा सुधार, विद्यालय व्यवस्थापन र शैक्षिक उन्नयनका लागि अझ सक्रिय रूपमा लागिरहनुभएको छ।

लामो समय शिक्षण र विद्यालय नेतृत्वमा  बिताउनुभएका अधिकारी अहिले पनि शिक्षा क्षेत्रसँग उस्तै समर्पणका साथ जोडिनुभएको छ। हाल उहाँ बर्दिवास–५ चेरुस्थित इच्छेश्वर माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा बर्दिवास–२ स्थित जनता बहुमुखी क्याम्पसको सञ्चालक समितिका सदस्यका रूपमा कार्यरत रहँदै सामुदायिक शिक्षाको गुणस्तर अभिवृद्धिमा योगदान दिइरहनुभएको छ।

शिक्षण यात्राको सुरुवात : एउटा सेवामूलक सोच

नारायण प्रसाद अधिकारीको शिक्षण यात्रा २०४६ सालमा सिन्धुली जिल्लाको गणेश माध्यमिक विद्यालय, मझुवाबाट सुरु भएको थियो। माध्यमिक तहका शिक्षकका रूपमा शिक्षण सेवा प्रारम्भ गर्नुभएका उहाँले शिक्षालाई केवल पाठ्यक्रम सिकाउने प्रक्रियामा सीमित राख्नुभएन, बरु समाज रूपान्तरणको माध्यमका रूपमा हेर्नुभयो।

त्यसपछिको यात्रामा उहाँ २०४९ सालमा धनकुटाको भारती माध्यमिक विद्यालय, सुमाङमा सरुवा भई अध्यापन कार्यलाई निरन्तरता दिन पुग्नुभयो। दुर्गम र चुनौतीपूर्ण भूगोलमा काम गर्दाको अनुभवले उहाँलाई शिक्षा व्यवस्थापन, विद्यार्थीको मनोविज्ञान र समुदायसँगको सहकार्यबारे थप परिपक्व बनाएको बताइन्छ।

२०५२ सालमा उहाँको सरुवा महोत्तरीको बर्दिवास नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालयमा भयो। यही विद्यालयसँग उहाँको सबैभन्दा लामो र प्रभावशाली शैक्षिक सम्बन्ध जोडियो। शिक्षकका रूपमा प्रवेश गर्नुभएका अधिकारीले त्यहाँ अध्यापन मात्र गर्नुभएन, विद्यालयको संस्थागत विकास र शैक्षिक सुधारका विभिन्न अभियानमा अग्रसर भूमिका निर्वाह गर्नुभएको वहाँसँग शिक्षालिएका बिद्यार्थीहरु बताउछन।

नेतृत्वमा देखिएको जिम्मेवारी र सुधारको प्रयास

जनता माध्यमिक विद्यालयमा करिब डेढ दशकको सेवापछि उहाँले विद्यालय नेतृत्वको जिम्मेवारी सम्हाल्ने अवसर पाउनुभयो। २०६६ सालदेखि २०७३ सालसम्म प्रधानाध्यापकका रूपमा कार्यरत रहँदा विद्यालयको शैक्षिक वातावरण सुधार, प्रशासनिक अनुशासन सुदृढीकरण तथा व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण प्रयासहरू भएको स्थानीय शिक्षा सरोकारवालाहरू बताउँछन्।

उहाँको कार्यकालमा विद्यालयमा शैक्षिक अनुशासन, शिक्षक–विद्यार्थी सम्बन्ध, नियमित पठनपाठन तथा विद्यालय व्यवस्थापनलाई थप व्यवस्थित बनाउने अभ्यासहरू अघि बढाइएका थिए। शिक्षा क्षेत्रका जानकारहरूका अनुसार अधिकारीले विद्यालयलाई केवल पठनपाठनको केन्द्र मात्रै नभई समुदायसँग जोडिएको सामाजिक संस्था मान्दै काम गर्नुभएको थियो।

अवकाशपछि शिक्षाबाट अझ नजिक

२०७९ साल असोज १० गते बर्दिवास–५ स्थित इच्छेश्वर माध्यमिक विद्यालय चेरुबाट औपचारिक रूपमा शिक्षण सेवाबाट निवृत्त भएपछि पनि अधिकारीको सक्रियता रोकिएन। धेरैजसो कर्मचारी वा शिक्षकहरू सेवा निवृत्तिपछि व्यक्तिगत जीवनमा सीमित हुने गर्छन्, तर उहाँले आफ्नोअनुभव, ज्ञान र नेतृत्व क्षमतालाई समाजमै पुनः समर्पित गर्ने बाटो रोज्नुभयो।

हाल उहाँ सामुदायिक विद्यालय र क्याम्पसको संस्थागत सुदृढीकरण, शैक्षिक गुणस्तर सुधार तथा व्यवस्थापन प्रभावकारी बनाउने कार्यमा निरन्तर आबद्ध रहनुभएको छ। विद्यालय व्यवस्थापन समितिमार्फत विद्यालयको नीति, योजना र शैक्षिक वातावरण सुधारमा उहाँको महत्वपुर्ण भूमिका देखिन्छ भने क्याम्पस व्यवस्थापनमा पनि उहाँको अनुभव उपयोग भइरहेको छ।

स्थानीय शिक्षा क्षेत्रका सरोकारवालाहरूका अनुसार नारायण प्रसाद अधिकारी जस्ता अनुभवी शिक्ष णसेवीको सक्रिय उपस्थिति सामुदायिक शिक्षाका लागि प्रेरणादायी र आवश्यक दुवै छ। “अवकाशपछि पनि उहाँले शिक्षा क्षेत्र छोड्नुभएन, बरु अझ जिम्मेवारीपूर्वक लागिरहनुभएको स्थानीय शिक्षाकर्मीहरू बताउँछन्।

अनुभवको उज्यालो पुस्तान्तरणतर्फ

शिक्षा केवल विद्यालयको कोठाभित्र सीमित हुँदैन, यो समाज निर्माणको आधार पनि हो भन्ने मान्यतालाई अधिकारीले आफ्नो जीवनशैलीमार्फत स्थापित गर्न खोज्नुभएको देखिन्छ। औपचारिक रूपमा सेवा निवृत्त भए पनि उहाँ अझै सामुदायिक विद्यालयको उन्नयन, शैक्षिक नेतृत्व विकास र संस्थागत सुधारमा समय दिइरहनुभएको छ।

उहाँको सक्रियताले बर्दिवासको समाजमा एउटा महत्वपुर्ण सन्देश दिन्छ— असल शिक्षक कहिल्यै पूर्ण रूपमा अवकाशमा जाँदैनन्। पद र जिम्मेवारी परिवर्तन हुन सक्छ, तर शिक्षाप्रतिको दायित्व र समाज निर्माणको भावना निरन्तर रहिरहन्छ। यही कारण नारायण प्रसाद अधिकारी आज पनि बर्दिवासको शिक्षा क्षेत्रमा एक समर्पित, सक्रिय र प्रेरणादायी व्यक्तित्वका रूपमा चिनिनुहुन्छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...