आज्ञा खबर
रौतहट
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल ले नागरिकसँग प्रत्यक्ष संवाद गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गुजरा नगरपालिकाको सभाहलमा बिहीबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उहाँले प्रशासनले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सेवा सहज रूपमा उपलब्ध गराइरहेको जानकारी दिनुभयो।
प्रजिअ भुसालका अनुसार अब राहदानी सेवाग्राहीको घरसम्म हुलाकमार्फत पुर्याउने तयारीसमेत अघि बढाइएको छ। यसबाट सेवाग्राहीलाई प्रशासन धाउनुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो।
कार्यक्रममा स्थानीय नागरिकहरूले रासायनिक मल अभावबारे गुनासो राखेपछि प्रजिअ भुसालले जिल्लामा मलको पर्याप्त मौज्दात रहेको स्पष्ट पार्नुभयो। साल्ट ट्रेडिङ कर्पोरेशन को गौर कार्यालय र कृषि सामग्री संस्थान चन्द्रनिगाहपुर शाखामा पर्याप्त मल उपलब्ध रहेको जानकारी आएको उल्लेख गर्दै कृत्रिम अभाव सिर्जना गर्नेविरुद्ध कारबाही गरिने चेतावनी दिनुभयो।
उहाँले मल वितरण प्रक्रियालाई पारदर्शी बनाउन तथा नियमित अनुगमनलाई प्रभावकारी बनाउन स्थानीय तहका उपप्रमुखहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको थियो।
सार्वजनिक सुनुवाइका क्रममा मिटरब्याजी समस्या समाधानका लागि सरकारले विशेष प्याकेजमार्फत काम गरिरहेको जानकारी दिँदै प्रजिअ भुसालले वास्तविक सुकुम्बासीको व्यवस्थापनमा सरकार गम्भीर रहेको धारणा राख्नुभयो। रौतहटका सरकारी जमिनको अतिक्रमण हटाउने तयारी भइरहेको र त्यसका लागि स्थानीय तहसँग लागत संकलनको प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो।
उहाँले प्राकृतिक विपद् व्यवस्थापन र बाढी नियन्त्रणका लागि पूर्वतयारीका कामसमेत भइरहेको जानकारी दिनुभयो।
कार्यक्रममा सिताराम रिजाल ले समाजमा बालविवाह, बहुविवाह र भागी विवाहका घटना चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो। उहाँका अनुसार जातीय विभेद, बोक्सी आरोप तथा साइबर अपराध अझै नियन्त्रणमा आउन नसक्नु चिन्ताको विषय बनेको छ।
प्रहरी उपरीक्षक रिजालले मिटरब्याजी समस्या, चेक बाउन्सका घटना तथा सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रणका लागि समुदायस्तरमै जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रममा शन्तलाल चौधरी ले जनताले सहज र छिटो सेवा पाउनुपर्नेमा जोड दिँदै नगर क्षेत्रका विविध समस्याबारे ध्यानाकर्षण गराउनुभएको थियो।
नगर प्रमुख चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रत्ना लामा, माधव शर्मा, रामहरी अधिकारी, कुमार बुढाथोकी, रुपा लाबुङ तथा नेपाल पत्रकार महासंघ का अध्यक्ष संजय कार्की लगायत जनप्रतिनिधि, सुरक्षा निकाय र सरोकारवालाहरूको सहभागिता रहेको थियो।






