आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका–५ स्थित बरडाँडामा वर्षौंदेखि झेलिँदै आएको खानेपानी समस्याको समाधानतर्फ महत्वपूर्ण पहल सुरु भएको छ। दुर्गम चुरे क्षेत्रमा स्वच्छ खानेपानीको पहुँच विस्तार गर्ने उद्देश्यसहित खानेपानी (इनटेक) ट्याङ्की निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको हो। शुक्रबार आयोजित कार्यक्रममा बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्री ले ट्याङ्की निर्माण कार्यको शिलान्यास गर्नुभएको थियो।
बरडाँडा क्षेत्र महोत्तरी जिल्लाको उत्तरी चुरे भेगमा पर्ने दुर्गम बस्तीमध्ये एक हो। यहाँका स्थानीय बासिन्दाले दशकौँदेखि खानेपानी अभाव झेल्दै आएका छन्। विशेषगरी गर्मीयाम र सुख्खा मौसममा पानीको स्रोत सुक्ने समस्या दोहोरिने गरेको छ। कतिपय परिवारले दैनिक आवश्यकताका लागि टाढाटाढाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता छ भने वर्षायाममा धमिलो र अस्वच्छ पानी प्रयोग गर्नुपर्ने अवस्था रहँदै आएको स्थानीयवासी बताउँछन्।
यही दीर्घकालीन समस्यालाई सम्बोधन गर्न अब बहुपक्षीय सहकार्यमार्फत ठोस पूर्वाधार निर्माणको काम अघि बढाइएको हो। Rotary Club of Bardibas तथा The Rotary Foundation को ८० प्रतिशत र बर्दिवास नगरपालिकाको २० प्रतिशत लागत साझेदारीमा “कैथी एन्ड रस केट्रोन” को सहयोगमा आयोजना निर्माण सुरु गरिएको जनाइएको छ। कुल ८० लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त खानेपानी (इनटेक) ट्याङ्कीबाट बरडाँडा क्षेत्रका करिब दुई सय घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।

शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख क्षेत्रीले दुर्गम बस्तीका नागरिकलाई आधारभूत सेवा उपलब्ध गराउनु स्थानीय सरकारको पहिलो दायित्व भएको बताउनुभयो। उहाँले बरडाँडाका नागरिकले पुस्तौंदेखि भोग्दै आएको खानेपानी संकट अब क्रमशः समाधानतर्फ जाने विश्वास व्यक्त गर्नुभयो। साथै नगरपालिकाले चुरे तथा विकट क्षेत्रलाई प्राथमिकतामा राखेर पूर्वाधार, शिक्षा, स्वास्थ्य र खानेपानी क्षेत्रमा योजनाबद्ध रूपमा काम गरिरहेको उल्लेख गर्नुभयो।
नगरप्रमुख क्षेत्रीले विकास केवल सडक र भवन निर्माणमा सीमित नहुने भन्दै स्वच्छ खानेपानी, स्वास्थ्य र जीवनस्तर सुधारसँग प्रत्यक्ष जोडिएका योजनाले नै नागरिकको जीवनमा वास्तविक परिवर्तन ल्याउने धारणा राख्नुभयो। उहाँका अनुसार स्थानीय तहले समुदायको आवश्यकता पहिचान गरेर त्यसअनुसार दीर्घकालीन प्रभाव पार्ने योजनालाई प्राथमिकतामा राखेको छ।
कार्यक्रममा बोल्दै Rotary Club of Bardibas का अध्यक्ष इन्द्र प्रसाद ढुंगेल ले सामाजिक उत्तरदायित्वअन्तर्गत दुर्गम क्षेत्रमा स्वच्छ खानेपानी पहुँच विस्तार गर्ने उद्देश्यले परियोजना अघि बढाइएको जानकारी दिनुभयो। उहाँले ग्रामीण तथा चुरे क्षेत्रका नागरिकले आधारभूत सेवाबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न सामाजिक संस्थाहरूले सहकार्य गरिरहेको बताउनुभयो।
उहाँका अनुसार खानेपानी केवल सुविधा मात्र नभई मानव जीवनसँग प्रत्यक्ष जोडिएको आधारभूत अधिकार हो। त्यसैले सामाजिक संस्था, स्थानीय सरकार र समुदायबीचको सहकार्यबाट यस्ता योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।
यसैगरी वडा नम्बर ५ का वडा अध्यक्ष काहारमान स्याङ्बा ले बरडाँडा क्षेत्रका नागरिकका लागि यो आयोजना अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। खानेपानी अभावले स्थानीयको दैनिक जीवन निकै कष्टकर बनेको उल्लेख गर्दै उहाँले ट्याङ्की निर्माण सम्पन्न भएपछि स्थानीयवासीको जीवनस्तरमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतम ले स्वच्छ खानेपानी मानव जीवनको आधारभूत आवश्यकता भएको उल्लेख गर्नुभयो। उहाँले सामाजिक संघसंस्था र स्थानीय तहबीचको सहकार्यबाट यस्ता जनमुखी आयोजना सञ्चालन हुनु सकारात्मक पक्ष भएको धारणा राख्दै दुर्गम क्षेत्रको विकासमा सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो।
बरडाँडामा सुरु गरिएको यो आयोजना केवल एउटा खानेपानी ट्याङ्की निर्माणको कार्यक्रम मात्र होइन, चुरे क्षेत्रमा बसोबास गर्ने नागरिकको आधारभूत जीवनस्तर सुधार गर्ने आशाको सुरुआतका रूपमा पनि हेरिएको छ। वर्षौंदेखि पिउने पानीको अभाव झेल्दै आएका स्थानीयका लागि यो योजना जीवनसँग प्रत्यक्ष जोडिएको राहत बन्ने अपेक्षा गरिएको छ।
शिलान्यास कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीयवासी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।






