अपाङ्गता भएकै कारण घरको चुलो बल्दैन

[sharethis-inline-buttons]

विजय कुमार साह,

धनुषा ।

धनुषाको  सबैला  नगरपालिका–१२,  उतिमपुरका एक अपाङ्गता भएका दम्पती भोक  र  दुधे  बालक  स्याहार्ने  चिन्ताले  पिरोलिएका छन् । ४४ वर्षीय इन्दल गडेरी र २५ वर्षीया कविता कुमारी पाल अपाङ्गता भएका दम्पती हुन् । इन्दलको खुट्टा अपाङ्गता छ भने कविता  आँखाले  देख्नुहुन्न  ।

तीन महिनाको दुधे बालक छ । यो दम्पतीको घरमा  चुलो  छ,  पकाउने  भाँडाकुँडा  छन्  तर मुस्किलले कहिलेकाहीँ खाना पाक्छ । कसैले खाद्यान्न सहयोग गरे चुलो बल्छ, नभए भोको पेट निदाउनुपर्ने बाध्यता छ । खाद्यान्न  अभावले  एक  छाक  मात्र  खाएर  भोक  टार्ने  बानी  बसालिसकेका  अपाङ्गता भएका दम्पतीले दुधे बालकलाई पनि भोकै राख्ने गर्नुभएको छ । मैले पेटभरी खान पाए पो बालकलाई दुध पुग्छ, आमा कविताले  भन्नुभयो  ।  दुध  नपुगेकै  कारण  बच्चा कुपोषित हुँदै गएको छ ।

जन्मेदेखि बच्चालाई कहिल्यै तेल मालिससमेत गर्न नसकेको उहाँले सुनाए । उनले भने,“हामी काम गर्न सक्दैनौँ । माग्न पनि जाँदैनौँ  ।  श्रीमान्ले  काम  गर्छु  भन्दा  पनि  अपाङ्गता  भएकै  कारण  कसैले  काममा  राख्दैनन्  ।’’  यसले  गर्दा  घरको  आर्थिक  अवस्था दयनीय बनेको छ । तीन महिनाअघि सबैलाको  एक  समाजिक  संस्थाले  एक  बोरा चामल दिएको थियो त्यो चामल पनि सकिएपछि अहिले खानपिनको ठूलै समस्या छ, कविताले भन्नुभयो ।

मुस्किलले कहिलेकाहीँ खाना पाक्छ । कसैले खाद्यान्न सहयोग गरे चुलो बल्छ नभए  भोको पेट निदाउनुपर्ने बाध्यता छ

माइती  पक्षले  भोग  चलन  गर्दै  आएको ऐलानी जग्गाबाट पाँच धुर जग्गा बसोबासका निम्ति कवितालाई दिइएको छ । सोही जग्गामा सानो झुपडी बनाएर उहाँहरू  बस्दै  आउनुभएको  छ  ।  यो  दम्पतीका तीन सन्तान छन् । छ वर्षकी जेठी  छोरी,  तीन  वर्षको  छोरा  र  तीन  महिनाको दुधे बालक ।

जन्मदै    अन्धोपनको    सिकार    हुनुभएकी कविताको विवाह सात वर्षअघि सबैला नगरपालिका–१, मुसहर टोल बस्ने अपाङ्गता  भएका इन्दलसँग भएको थियो । ससुरा पक्ष सम्पत्तिविहीन रहेको र माइती पक्षको पनि आर्थिक अवस्था कमजोर रहेका कारण  आफन्तबाट  पनि  कुनै  किसिमको  सहयोग पाइरहनुभएको छैन ।

अपाङ्गताको  हैसियतले  स्थानीय  तहबाट   पाउनुपर्ने   सेवा   सुविधासमेत   पाउनुभएको छैन । अपाङ्गता कार्ड नबनेका कारण उहाँहरू स्थानीय तहबाट पाउनुपर्ने सेवा सुविधाबाट बञ्चित हुनुभएको छ ।