मनसुनी विपद्को जोखिम यसपालि पनि उच्च

[sharethis-inline-buttons]

काठमाडौँ —

सधैं १३ जुन (जेठ ३०) आसपास भित्रिने मनसुन यो वर्ष एक साताअघि ५ जुन (२२ जेठ) मै भित्रिएको छ । मौसमविद्हरूले यो वर्ष औसतभन्दा बढी वर्षा हुने आकलन गरेका छन् । मनसुनको पूर्वतयारी र प्रतिकार्य योजना बनाउन सरकारलाई सहयोग गर्दै आएको राष्ट्रसंघीय कार्यक्रम (यूएनडीपी) का विपद्विज्ञ डिवेन्द्रराज बाँस्कोटाले यस वर्षको मनसुनी विपद्बाट करिब १७ लाख सर्वसाधारण प्रभावित हुने देखिएकाले प्रतिकार्यस्वरूप गरिने क्रियाकलाप, स्रोतको व्यवस्थापन र जनशक्ति तयार गर्न सुझाएका छन् । नदीनाला अतिक्रमण, ढल निकासको उचित प्रबन्ध नहुनु, जथाभावी जग्गा प्लटिङलगायत कारण बाढीको जोखिम बढ्दो छ ।

सरकारले आव ०७९/८० को बजेटमा विपद् पूर्वतयारी, खोज उद्धार, राहत र पुनःस्थापनामा संघ, प्रदेश र स्थानीय स्तरमा स्वंसेवक परिचालन गरिनुका साथै उद्धार र राहतलाई प्रभावकारी बनाउन विपद् व्यवस्थापनमा संलग्न निकायहरूको क्षमता अभिवृद्धिका लागि स्रोतको व्यवस्थापन गरिने उल्लेख छ । ‘विपद्का घटनाबाट प्रभावित जनसंख्याको तथ्यांकका आधार निर्माण गरी राहत र पुनरुत्थानका कार्यक्रमहरू सञ्चालन गरिनेछ,’ बजेटमा भनिएको छ, ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका कार्यका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई एक अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

’ सरकारले ०७२ सालको भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम सम्पन्न गर्न ९ अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरेको छ ।
पूर्वी भागबाट मनसुन पश्चिमतिर सक्रिय हुँदै अघि बढे पनि सरकारले मनसुनको पूर्वतयारी र प्रतिकार्य योजना स्वीकृत गरेको छैन । प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले गृहमन्त्री तथा प्राधिकरणको कार्यकारी समितिका अध्यक्ष बालकृष्ण खाँणको व्यस्तताका कारण बैठक बस्न नसकेकाले योजना स्वीकृत हुन नसकेको बताए ।विगतको मनसुनमा भएका विपद्का क्षति, प्रतिकार्यका प्रयास र सिकाइ समेटेर मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना तयार गरिएको उनको भनाइ छ । भट्टराईका अनुसार सिन्धुपाल्चोकको बाढी निरीक्षणमा ड्रोनको प्रयोग, कर्णालीमा विपद्सम्बन्धी बिमा प्रणालीको थालनी र स्थानीय तहमा स्वयंसेवकको व्यवस्थालगायतका अभ्यास सुरु भइसकेको छ ।