आज्ञा सम्वाददाता
जनकपुरधाम
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले मधेशले देशमा जति योगदान गरेपनि शासन व्यवस्थामा खसहरुकै नेतृत्व रहेकाले मधेसको विकास हुन नसकेको बताएका छन । मंगलबार जनकपुरधाममा होली पर्वको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले
शासन सत्तामा मधेसीको सहभागिता नभएसम्म मधेशको विकास हुन नसक्नेदाबि गरे ।
मधेशलाई काठमाडौंबाट शासन गर्ने शासकहरुले अझै पनि स्वीकार गर्न नसकेको प्रस्ट पार्दै नेता महतोले भने, ‘काठमाडौँबाट शासन गर्नेहरु आफूलाई ठूलो राष्ट्रवादी ठान्छन् र मधेशवादीलाई राष्ट्रवादी नै देख्दैनन् ।’
महतोले ढाका टोपी लगाउनेहरुलाई मात्र राष्ट्रवाद देख्ने गरेको भन्दै धोती कुर्ता लगाउनेलाइ राष्ट्रवादी नदेख्ने गरेको उनको भनाइ छ । महतोले भने, ‘यो नक्कली राष्ट्रवादको परिभाषा परिवर्तित हुनैपर्छ, मधेसीभन्दा यो देशमा कोही ठूलो राष्ट्रवादी छैनन् ।’
त्यस्तै मधेस प्रदेशका प्रदेशसभा सदस्य परमेश्वर साहले मधेस सरकारले संचालनमा ल्याएको ’बेटी पढाऊ, बेटी बचाऊ’ अभियानमा व्यापक अनियमितता भएको भन्दै अख्तियारले छापा मारेकोे बताए । उनले निष्पक्ष छानविनका लागि मुख्यमन्त्री लालबाबु राउतलाई मार्ग प्रशस्त गरेर सहयोग गर्न पटक पटक आग्रह गरेकोे बताए । अख्तियारले छापा मारेको महिनौं बितिसक्दा पनि छानविनको प्रतिवेदन सार्वजनिक नगरिएकोमा उनले प्रश्न उठाए।