सृष्टि क्षेत्री
बर्दिवास
विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर श्रीपञ्चमी पर्व मनाईदै छ । उत्तरतिर सूर्य लागी दिन लामो र रात छोटो हुने तथा आजको दिन बाट बसन्त ऋतु शुरु हुने भएकाले आजको दिनलाई बसन्तपञ्चमी पनि भन्ने चलन छ ।
आफ्नो विद्याको बिकास निर्विघ्न रुपमा सम्पन्न होस भन्ने कामना गर्दै देशभरका सरस्वती मन्दिरहरुमा आजको दिनमा श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गरेको छ । त्यस्तै विद्यालयहरुमा पनि बिशेष किसिमले माता सरस्वतीको पुजाआजा गरी यो पर्व मनाउने प्रचलन रहेको छ । आजकै दिनबाट बालबालिकाहरुलाई औपचारिक रुपमा अक्षर चिनाईने तथा पठनपाठन गराउने पनि चलन छ । आजको दिनमा विद्यार्थी, शिक्षक, साहित्यकार, चित्रकार, गायक, नर्तक लगायत विद्या साधकले आ–आफ्ना कला साधनाका सामाग्रीको बिशेष पुजा गर्ने चलन समेत रहेको छ ।
यसैगरी विद्याका प्रतिक मञ्जुश्री चीनबाट आजैका दिनमा काठमाडौ उपत्यका प्रबेश गरेको मानी सरस्वतीको मुर्तिलाई ज्ञानका प्रतिक सम्बुद्ध भन्दै बौद्ध धर्मालम्वीले पनि सरस्वतीको मुर्तिमा बेग्लाबेग्लै आस्थाका साथ पूजा आराधना गर्ने धार्मिक प्रचलन रहेको छ ।