जलवायु परिवर्तनको मुद्दा अन्तर्राष्ट्रियस्तरमा उठाउनुपर्छ : दाहाल

आज्ञा खबर

 जनकपुरधाम

नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएको संकटलाई अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण हुने गरी सशक्त रूपमा उठाउनुपर्ने बताएका छन्।

पार्टीको कार्यक्रममा सहभागी हुन जनकपुरधाम आएका दाहालले राष्ट्रिय समाचार समिति (रासस)सँग कुरा गर्दै हिमाल पग्लिने क्रम वातावरणीय समस्यामा मात्र सीमित नभई मानव सभ्यता र अस्तित्वसँग प्रत्यक्ष जोडिएको विषय भएको बताए।

उनले आफू प्रधानमन्त्री भएका बेला पनि अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको असरबारे आवाज उठाएको स्मरण गर्दै अहिले यस विषयमा अन्तर्राष्ट्रिय समुदायलाई थप गम्भीर बनाउन आवश्यक रहेको बताए।

जलवायु परिवर्तनको प्रभाव हिमाली क्षेत्रमा मात्र नरहेको उल्लेख गर्दै दाहालले यसको असर मानव जीवन, कृषि उत्पादन, जलस्रोत, जैविक विविधता र समग्र अर्थतन्त्रमा क्रमशः बढ्दै गएको बताए। नेपालजस्ता जलवायु परिवर्तनको असर बढी भोगिरहेका मुलुकले अन्तर्राष्ट्रियस्तरमा क्षतिपूर्ति, अनुकूलन र जोखिम न्यूनीकरणका विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने उनको भनाइ थियो।

यसैबीच, भोटेकोशी नदीमा आएको बाढीपछि उद्धार तथा खोजी कार्य प्रभावकारी रूपमा अघि बढाउन नसकेको भन्दै दाहालले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। बाढीका कारण सुरुङभित्र फसेका व्यक्तिको खोजी तथा उद्धारका लागि सुरुआतमै आधुनिक प्रविधि, दक्ष जनशक्ति र विशेषज्ञ टोली परिचालन गर्न सके धेरैको ज्यान जोगाउन सकिने उनको दाबी छ।

सरकारले विपद्का घटनामा तत्काल उद्धार र खोजी कार्यलाई तीव्रता दिनुपर्नेमा त्यसो गर्न नसक्नु कमजोरी भएको दाहालले बताए। यस्ता घटनामा सरकार, अन्तर्राष्ट्रिय समुदाय, विज्ञ तथा उद्धारसम्बन्धी दक्ष टोलीबीच तत्काल समन्वय गरी उपलब्ध आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्नुपर्नेमा उनले जोड दिए।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...