माधव पौडेल
वर्दिवास, महोत्तरी
युवा टोल सुधार समितिको अगुवाइमा निर्मित श्री दुर्गा मन्दिर धार्मिक पर्यटकीय स्थल व्यवस्थापन समितिको आयोजनामा बर्दिबास(१ स्थित दुर्गा मन्दिरको प्राङ्गणमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन भइरहेको छ । गत भदौ १० गते भोटेकोसी नदीमा आएको बिनासकारी बाढीका कारण दिवङ्गत हुनुभएका सम्पूर्ण महान आत्माहरूको चिरशान्तिका साथै मोक्ष प्राप्तिको कामना गर्दै महायज्ञ आयोजना गरिएको हो ।

यसका साथै दुर्गा मन्दिरको कम्पाउण्ड वाल र मूल गेट निर्माण गर्ने पवित्र उद्देश्यका साथ असोज २५ गतेदेखि ३१ गतेसम्म महायज्ञ सञ्चालन भइरहेको आयोजकले जनाएको छ । महायज्ञमा पूज्या देवी सुमी मानवज्यूले भागवत बाचकका रूपमा कथा वाचन गरिरहनुभएको छ ।

धार्मिक तथा सामाजिक कार्यका लागि स्थानीय दाताहरूले आर्थिक सहयोग गर्ने क्रम जारी रहेको छ । दाताहरुको आजसम्मको विवरण प्रकाशित गरीएको छ । दाताहरुलाई आयोजकले सम्मान(पत्रद्वारा सम्मानित गरिएको छ । समितिले आगामी दिनहरूमा पनि स्थानीयबासी तथा भक्तजनहरूबाट यस्तै सामाजिक र धार्मिक कार्यहरूमा सहयोगको अपेक्षा राखेको बताएको छ ।

