निकेश खनाल
बर्दिबास
सहकारीको वास्तविक शक्ति सदस्यको विश्वास, सहभागिता र आर्थिक सशक्तीकरणमा निहित हुन्छ। यही मान्यतालाई आत्मसात् गर्दै महोत्तरीको बर्दिबासस्थित बर्दिबास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १५औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सदस्यलाई प्राथमिकतामा राखेर आयोजना गरिएको सभामा संस्थाको वित्तीय अवस्था, उपलब्धि, चुनौती र आगामी कार्यदिशाबारे छलफल गरिएको छ।
संस्थाका अध्यक्ष सन्तोष श्रेष्ठको सभापतित्व तथा बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा सदस्यसँगको कारोबारलाई थप प्रभावकारी बनाउने, बाल बचतलाई प्रोत्साहन गर्ने, ज्येष्ठ सदस्यको सम्मान गर्ने र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेलगायतका कार्यक्रमलाई प्राथमिकता दिइएको थियो।
सहकारीले यस वर्षको साधारण सभामा पत्रकारबाहेक अन्य व्यक्तिलाई औपचारिक अतिथिका रूपमा आमन्त्रण नगरी आफ्नै साधारण सदस्यलाई केन्द्रमा राखेको थियो। सदस्यको सहभागिता र उनीहरूकै भूमिकालाई महत्त्व दिँदै सम्पन्न सभाले सहकारीको आधार सदस्य नै हुन् भन्ने सन्देश दिएको छ। संस्थाका सचिव मदनकुमार ठकुरीले सञ्चालन गरेको कार्यक्रममा सदस्यहरूको हित, संस्थाप्रतिको अपनत्व र सहकारीको भावी यात्राबारे चर्चा गरिएको थियो।

उत्कृष्ट सदस्यलाई सम्मान, विद्यार्थीलाई छात्रवृत्ति
सभाका अवसरमा संस्थासँग उत्कृष्ट कारोबार गर्ने सदस्य, उत्कृष्ट बाल बचतकर्ता तथा ज्येष्ठ सदस्यलाई सम्मान गरिएको थियो। सहकारीले आर्थिक कारोबारमा सक्रिय सदस्यको योगदानको कदर गर्दै बचत गर्ने बानीको विकास र पुस्तान्तरणलाई समेत प्रोत्साहन गरेको छ।
त्यसैगरी, शेयर सदस्यका छोराछोरीमध्ये जेहेन्दार विद्यार्थीलाई जनही १५ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको थियो। शिक्षामा सहयोग पुर्याउने उद्देश्यले प्रदान गरिएको छात्रवृत्तिले विद्यार्थीको शैक्षिक यात्रामा टेवा पुर्याउनुका साथै सदस्यका परिवारप्रतिको संस्थाको सामाजिक उत्तरदायित्वलाई पनि उजागर गरेको छ।
सहकारीको काम बचत संकलन र ऋण प्रवाहमा मात्र सीमित नराखी सदस्यको सामाजिक तथा शैक्षिक विकासमा समेत योगदान पुर्याउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ।
वित्तीय पारदर्शिता र सहकारी शिक्षामा जोड
सभामा संस्थाका मुख्य व्यवस्थापक रमेशबहादुर सिंहले प्रोजेक्टरमार्फत संस्थाको वित्तीय अवस्था, सामना गरिरहेका चुनौती, उपलब्ध अवसर तथा नियामक निकायबाट जारी नयाँ नियमबारे सदस्यलाई जानकारी गराएका थिए।
उनले सहकारीको वित्तीय पारदर्शिता, दिगोपना र सदस्यको विश्वासलाई संस्थाको मुख्य पुँजीका रूपमा व्याख्या गर्दै सहकारीसम्बन्धी शिक्षा प्रदान गरेका थिए। संस्थाको वास्तविक अवस्था र आगामी सम्भावनाबारे सदस्यलाई जानकारी गराउँदा उनीहरूमा संस्थाप्रतिको विश्वास बढ्नुका साथै निर्णय प्रक्रियामा सहभागिता जनाउन पनि सहज हुने अपेक्षा गरिएको छ।

सहकारी क्षेत्रमा पारदर्शिता, सुशासन र वित्तीय अनुशासनको महत्त्व बढिरहेका बेला सदस्यलाई संस्थाको आर्थिक अवस्थाबारे स्पष्ट जानकारी दिनु र उनीहरूलाई सहकारीका नियम तथा जिम्मेवारीबारे सचेत गराउनु महत्त्वपूर्ण मानिन्छ।
प्रविधिमैत्री र सदस्यमुखी सेवाको प्रतिबद्धता
१५ वर्षदेखि निरन्तर सदस्यको सेवामा सक्रिय बर्दिबास बचत तथा ऋण सहकारीले आगामी दिनमा प्रविधिमैत्री र सदस्यमुखी सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ। बदलिँदो समय र सदस्यको आवश्यकताअनुसार सेवा प्रवाहलाई सहज, प्रभावकारी र विश्वसनीय बनाउँदै लैजाने संस्थाको लक्ष्य छ।

साधारण सभा संस्थाको वार्षिक गतिविधिको समीक्षा गर्ने औपचारिक कार्यक्रम मात्र नभई सदस्य र व्यवस्थापनबीच संवाद, सुझाव आदानप्रदान तथा आगामी योजनाको दिशा तय गर्ने अवसर पनि हो। सदस्यलाई नै प्राथमिकतामा राखेर सम्पन्न यस वर्षको सभाले संस्थाको सेवा प्रवाह र सदस्यसँगको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
सभाको अन्त्यमा संस्थाले कार्यक्रममा सहभागी सम्पूर्ण सदस्यप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सदस्यको हित, विश्वास र सहकार्यलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
