रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान बर्दिबासमा सम्पन्न,

माधव पौडेल
बर्दिबास, महोत्तरी।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘हामी आउँदैछौँ’ अभियानअन्तर्गत बर्दिबासमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। अभियानका क्रममा स्थानीय नेता तथा कार्यकर्ताले जनताका दैनिक समस्या, विकास निर्माण, प्राकृतिक स्रोतको संरक्षण र सार्वजनिक निकायमा सुशासन कायम गर्नुपर्ने विषयमा पार्टीका केन्द्रीय प्रतिनिधिहरूको ध्यानाकर्षण गराएका छन्।

बर्दिबासस्थित विनायक ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा बर्दिबास नगरपालिका र भंगाहा नगरपालिकाका नेता तथा कार्यकर्ताले आफ्ना समस्या, गुनासा र सुझाव केन्द्रीय प्रतिनिधिसमक्ष राखेका थिए।

असोज २७ गतेसम्म सञ्चालन हुने अभियानका लागि पार्टीले मधेस प्रदेशका सभापति मा. इन्जिनियर तपेश्वर यादव, पुनम कुमारी अग्रवाल र सिताराम साहलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाएको छ। अभियानअन्तर्गत महोत्तरी जिल्लाका १५ वटै स्थानीय तहमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने, स्थानीय समस्या तथा जनगुनासा सङ्कलन गर्ने र पार्टीको राजनीतिक अभियानलाई जनस्तरसम्म पुर्‍याउने लक्ष्य राखिएको छ।

चुरे संरक्षणदेखि प्राकृतिक स्रोतको उपयोगसम्मका सुझाव

कार्यक्रममा सुझाव राख्दै युवा नेता विजय पोखरेलले वन क्षेत्रमा करोडौँ रुपैयाँ मूल्यको काठ कुहिएर जाने अवस्था रहेकाले त्यसको सदुपयोग गर्न आवश्यक कानुनी तथा नीतिगत सुधार गर्नुपर्ने बताए। वनमा रहेका काठलाई समयमै उपयोगमा ल्याउन नसक्नु कमजोरी भएको उल्लेख गर्दै उनले आवश्यक परे कानुन संशोधन गरेर भए पनि काठ खेर जान नदिने व्यवस्था गर्नुपर्ने धारणा राखे।

त्यस्तै, चुरे क्षेत्रमा रिचार्ज पोखरी निर्माण गरी भूमिगत जलस्रोतको पुनर्भरण गर्नुपर्नेमा जोड दिँदै पोखरेलले तराईलाई मरुभूमीकरणको जोखिमबाट जोगाउन दीर्घकालीन योजना आवश्यक रहेको बताए। घरघरमा अव्यवस्थित रूपमा ट्युबवेल जडान हुँदा भूमिगत पानीको सतह घट्दै गएको उल्लेख गर्दै उनले पानीको स्रोत संरक्षण र ट्युबवेल व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने सुझाव दिए।

रातुखोला दोहन रोक्न र खोपको उपलब्धता बढाउन माग

रास्वपाका नेता पिताम्बर महतोले रातुखोलामा भइरहेको दोहन नियन्त्रण गर्नुपर्ने माग गरे। बर्दिबास नगरपालिकाले वितरण गर्न लागेको अव्यवस्थित जग्गाको हकभोग निस्सा वितरण प्रक्रिया रोक्नुपर्ने धारणा राख्दै उनले यस विषयमा व्यवस्थित र पारदर्शी प्रक्रिया अपनाउनुपर्ने बताए।

महतोले बर्दिबासमा रेबिज तथा सर्पदंशविरुद्धका खोप पर्याप्त मात्रामा उपलब्ध गराउन पनि सरकारसँग माग गरे। नागरिकको स्वास्थ्य सुरक्षासँग प्रत्यक्ष जोडिएका यस्ता सेवामा अभाव हुन नदिन सम्बन्धित निकायले प्रभावकारी व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।

खानेपानी समितिमा भ्रष्टाचार भएको आरोप, छानबिन गर्न आग्रह

बर्दिबास नगरपालिका–२ का देवनारायण महतोले बर्दिबास खानेपानी उपभोक्ता समितिमा भएको भनिएको भ्रष्टाचारबारे छानबिन गर्न पार्टी नेतृत्वसँग आग्रह गरे। सार्वजनिक सरोकारका विषयमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पार्टीले सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।

उनले समाजमा विद्यमान विभिन्न कुरीति र विकृतिका विषयमा पार्टीका नेताहरूले खुलेर आवाज नउठाउनुको कारणसमेत प्रश्न गरे। जनताका समस्या र सामाजिक मुद्दामा पार्टी नेतृत्वले स्पष्ट धारणा राख्नुपर्नेमा उनले जोड दिए।

‘जनता होइन, नेता घरघरमा पुग्नुपर्छ’

कार्यक्रमका प्रमुख अतिथि तथा मधेस प्रदेश सभापति मा. इन्जिनियर तपेश्वर यादवले ‘हामी आउँदैछौँ’ अभियान सरकार र कार्यकर्ताबीचको सम्बन्धलाई बलियो बनाउने तथा जनताका समस्या प्रत्यक्ष रूपमा बुझ्ने उद्देश्यले सञ्चालन गरिएको बताए।

अब जनताले आफ्ना समस्या लिएर सिंहदरबार धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै नेता नै जनताको घरदैलोमा पुग्नुपर्ने उनको भनाइ थियो।

‘आज धेरै साथीहरूका सुझाव र गुनासा सुन्ने अवसर मिल्यो,’ यादवले भने, ‘समय अभावका कारण आफ्ना कुरा राख्न नपाउनुभएका साथीहरूले लिखित रूपमा सुझाव दिनुहोला।’

जनताको दैनिक जीवनमा आइपर्ने समस्या नजिकबाट बुझेर समाधानका लागि पहल गरिरहेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा पार्टीका नेता तथा कार्यकर्ता एकजुट भएर लागे बर्दिबास नगरपालिकामा रास्वपाले प्रमुख पद जित्न कसैले रोक्न नसक्ने दाबीसमेत गरे।

स्थानीय तहसम्मै पुगेर जनताका कुरा सुन्ने अभियान

कार्यक्रममा रास्वपा महोत्तरी जिल्ला सभापति शुभम यादव, जिल्ला उप सभापति चन्द्र किसोर महतो लगाएतका नेता कार्यकर्ताको सहभागिता थियो । पार्टीका नगर सभापति परशुराम बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताले स्थानीय विकास, सुशासन, प्राकृतिक स्रोतको संरक्षण, स्वास्थ्य सेवा र सामाजिक विकृतिसँग सम्बन्धित विषय उठाएका थिए।

‘हामी आउँदैछौँ’ अभियानले स्थानीय तहमा देखिएका समस्या र नागरिकका अपेक्षा पार्टी नेतृत्वसमक्ष पुर्‍याउने तथा जनतासँगको सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...