माधव पौडेल
महोत्तरी
नेपाली कांग्रेस महोत्तरीका पुराना तथा प्रभावशाली नेता चिरन्जीवी हमालले आसन्न १५औँ महाधिवेशनमा सहभागी नहुने निर्णय गरेपछि कांग्रेसभित्र एउटा प्रश्न उठेको छ– आखिर किन पछि हटे चिरन्जीवी हमाल ?
दुई दृुई पटक वर्दिवास गा.वि.स.को अध्यक्ष भएर काम गरेका २०७० सालको संविधान सभा निर्वाचनमा महोत्तरी क्षेत्र नं.१ वाट झण्डै झण्डै जित नजिक पुगेका तथा २०७९ को स्थानिय तहको निर्वाचनमा वर्दिवास नगरपालिकाको मेयरमा चुनाव लडेका नेता एक्कासी किन राजनितिको कुम्भमेलामा सहभागि भएनन् ? लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय हमालका लागि महाधिवेशन प्रतिनिधि बन्नु कठिन विषय थिएन । अझ प्रतिनिधि तथा पदाधिकारी छनोट समितिमै रहेका उहाँले चाहेमा आफूलाई सहजै प्रतिनिधिका रूपमा अघि बढाउन सक्ने अवस्था थियो । तर, हमालले उल्टै आफूलाई प्रतिनिधिका रूपमा छनोट नगर्ने निर्णय गर्नुभयो । उहाँले महाधिवेशनमा सहभागी नहुने मात्र होइन, कुनै पदमा समेत दाबी नगर्ने घोषणा गर्नुभएको छ ।
युवालाई अवसर दिन पछि हटे
हमालका अनुसार आफ्नो निर्णयको मुख्य कारण नयाँ पुस्तालाई पार्टीको नेतृत्वमा अवसर दिनु हो । “म धेरै पटक महाधिवेशन प्रतिनिधि भएर गएको छु । यसपटक पनि साथीहरूले अनिवार्य रूपमा जानुपर्छ भनेर आग्रह गर्नुभएको थियो । तर अब युवालाई अवसर दिनुपर्छ भन्ने सोचेर मैले प्रतिनिधि नबन्ने निर्णय गरेको हुँ,” उहाँले भन्नुभयो ।
पटक–पटक महाधिवेशन प्रतिनिधि भइसकेकाले यसपटक नयाँ पुस्ताका लागि ठाउँ छाड्नु उपयुक्त हुने उहाँको बुझाइ छ । अनुभवी पुस्ताले नेतृत्वमा निरन्तरता खोजिरहनुभन्दा युवालाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने उहाँको धारणा छ ।
आफैँ छनोट समितिमा, आफ्नै नाम हटाए
पार्टिका सम्पुर्ण प्रत्यासिहरुले चिरन्जीवि हमाल समेतलाई साझा व्यक्तित्वको रुपमा छनौट गर्न जिम्मा दिए । हमालको निर्णयको महत्वपूर्ण पक्ष उहाँ आफैँ प्रतिनिधि तथा पदाधिकारी छनोट समितिमा रहेर पनि आफ्नो नाम प्रतिनिधिका रूपमा अगाडि नबढाउनु हो । महाधिवेशन प्रतिनिधि बन्न साथीहरूबाट आग्रह आए पनि आफूले निर्णय परिवर्तन नगरेको उहाँले बताउनुभयो । यसले उहाँको निर्णय व्यक्तिगत असन्तुष्टिभन्दा पनि सोचविचारसहित गरिएको राजनीतिक निर्णय भएको देखाउँछ ।
हमालले पद र प्रतिनिधित्व छाड्नु राजनीतिबाट टाढिनु नभएको स्पष्ट पार्नुभएको छ । पदमा नरहे पनि पार्टी, संगठन र नयाँ पुस्तालाई आवश्यक सहयोग तथा मार्गदर्शन गरिरहने उहाँको भनाइ छ ।
महाधिवेशन प्रतिनिधि छनोटमा असन्तुष्टि ः १० वडाले पाएनन् प्रतिनिधित्व
नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि महोत्तरी क्षेत्र नं. १ मा महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया टुंगिएसँगै पार्टीभित्रै असन्तुष्टिका स्वरहरू सुनिन थालेका छन्। क्षेत्रअन्तर्गत रहेका ३० वटा वडामध्ये १० वटा वडाले महाधिवेशन प्रतिनिधित्व नपाएको भन्दै सम्बन्धित वडाका कार्यकर्ताले असन्तुष्टि जनाएका हुन् ।
क्षेत्र नं. १ अन्तर्गत बर्दिबास नगरपालिकाका वडा नं. ४, ६, ८ र १४, गौशला नगरपालिकाका वडा नं. २, ६, ७ र १२ तथा भंगाहा नगरपालिकाका वडा नं. ३ र ४ बाट महाधिवेशन प्रतिनिधि छनोट नभएको कार्यकर्ताहरूको भनाइ छ ।
पार्टीको आन्तरिक निर्वाचनमा सबै वडाका कार्यकर्ताको सहभागिता र प्रतिनिधित्वलाई समान रूपमा सम्बोधन गर्नुपर्ने अवस्थामा केही वडाबाट एक जना पनि महाधिवेशन प्रतिनिधि नपर्नुले स्थानीय तहमा प्रश्न उठेको हो । प्रतिनिधि छनोटमा आफ्नो वडा छुटेको भन्दै केही कार्यकर्ताले नेतृत्वसँग असन्तुष्टि व्यक्त गरेका छन् । कार्यकर्ताहरूको मुख्य गुनासो प्रतिनिधि छनोटको परिणामभन्दा पनि प्रतिनिधित्वको सन्तुलन र छनोट प्रक्रियाको न्यायिकतामाथि रहेको देखिन्छ । लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहेका कार्यकर्ता तथा विभिन्न निर्वाचनमा पार्टीका पक्षमा काम गरेका वडाहरूबाट प्रतिनिधित्व नहुँदा आगामी दिनमा संगठनभित्र यसको असर पर्न सक्ने उनीहरूको चिन्ता छ । विशेषगरी स्थानीय तहको संरचना र वडागत रूपमा पार्टीको संगठन विस्तारलाई हेर्दा कुनै वडा पूर्ण रूपमा प्रतिनिधित्वविहीन हुनु स्वाभाविक नभएको कार्यकर्ताहरूको तर्क छ ।
यद्यपि, प्रतिनिधित्व नपाएका सबै वडाको राजनीतिक प्रभाव समान छैन । बर्दिबास नगरपालिका वडा नं. १४ भने क्षेत्रीय नेतृत्वकै हिसाबले महत्वपूर्ण रूपमा जोडिएको छ । सोही वडाबाट युवराज पोखरेल महोत्तरी क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा चयन भएका छन् । त्यसैले वडा नं. १४ ले महाधिवेशन प्रतिनिधि नपाए पनि क्षेत्रीय सभापतिको रूपमा आफ्नो राजनीतिक प्रतिनिधित्व भने पाएको छ ।
तर, कार्यकर्ताको असन्तुष्टि भने त्यत्तिमै समाप्त भएको छैन। क्षेत्रीय सभापति आफ्नो वडाबाट निर्वाचित हुनु र महाधिवेशन प्रतिनिधि नपाउनु दुई फरक विषय भएको उनीहरूको भनाइ छ । क्षेत्रीय नेतृत्व प्राप्त हुनु सकारात्मक भए पनि महाधिवेशनको प्रतिनिधित्वबाट वडा नै बाहिरिनु संगठनात्मक हिसाबले पुनर्विचार गर्नुपर्ने विषय भएको केही कार्यकर्ताको तर्क छ ।
महोत्तरी–१ मा बर्दिबास, गौशला र भंगाहा नगरपालिकाका विभिन्न वडामा नेपाली कांग्रेसको संगठन रहेको अवस्थामा ३० वडामध्ये १० वटा वडा महाधिवेशन प्रतिनिधित्वबाट बाहिरिनुले ‘कसको प्रतिनिधित्व भयो र कसको आवाज छुट्यो?’ भन्ने प्रश्न उठाएको छ ।
क्षेत्र नं. १ मा महाधिवेशन प्रतिनिधि छनोट भइसकेको अवस्थामा अब नेतृत्वसामु मुख्य चुनौती भनेको असन्तुष्ट कार्यकर्तालाई कसरी विश्वासमा लिने भन्ने हो । १० वटा वडाका कार्यकर्ताले उठाएको प्रश्नको जवाफ व्यवहारमै दिने र सबै वडालाई पार्टीको आगामी गतिविधिमा समान रूपमा समेट्न सकेमा मात्रै अहिले देखिएको असन्तुष्टि दीर्घकालीन विवादमा परिणत हुनबाट रोक्न सकिने देखिन्छ ।
