आज्ञा खबर
महोत्तरी
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ९औँ राष्ट्रिय महाधिवेशन तथा रजत जयन्ती–२०८३ यहि असोज २२, २३ र २४ गते महोत्तरीको बर्दिबासमा आयोजना हुने भएको छ ।
‘हाम्रो अभियानः लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने मूल उद्देश्यसहित आयोजना हुने महाधिवेशन बर्दिबास नगरपालिका–गौरीडाँडास्थित खुला मञ्चमा हुने पत्रकार सम्मेलन मार्फत शुक्रवार प्रतिष्ठानले जनाएको छ। ।
प्रतिष्ठानका अनुसार महाधिवेशनमा देशभरबाट महाधिवेशन प्रतिनिधि तथा पर्यवेक्षक गरी करिब १ हजार ५ सय जनाको सहभागिता रहनेछ । सहभागीको व्यवस्थापनका लागि बर्दिबास क्षेत्रमा करिब १ हजार जनाका लागि होटल बुकिङ भइसकेको र बाँकीका लागि ढल्केबर तथा लालगढ क्षेत्रमा आवासको व्यवस्था गरिने तयारी गरिएको छ । त्यसका साथै आवश्यक परे जनकपुरधामसम्म आवास व्यवस्थापन विस्तार गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।
महाधिवेशनको उद्घाटन समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव प्रमुख अतिथिका रूपमा सहभागी हुने जनाइएको छ । कार्यक्रममा प्रदेश सरकारका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, अग्रज कलाकार तथा स्रष्टा, सञ्चारकर्मी, उद्योगी–व्यवसायी तथा लोकसंस्कृतिप्रेमीहरूको सहभागिता रहनेछ ।
रजत जयन्तीका अवसरमा प्रतिष्ठानको २५ वर्षे यात्रामा योगदान पुर्याएका अग्रज तथा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रमसमेत राखिएको छ ।
प्रतिष्ठानका अनुसार महाधिवेशन नेतृत्व चयनमा मात्र सीमित नभई संस्थाको २५ वर्षे यात्राको समीक्षा, वर्तमान अवस्थाबारे छलफल तथा आगामी कार्यदिशा तय गर्ने अवसरका रूपमा आयोजना गर्न लागिएको हो । लोकसंस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन तथा कलाकारको हकहितका विषयमा समेत महाधिवेशनमा छलफल हुने बताइएको छ ।
प्रतिष्ठानको संस्थागत यात्रा २०५७ साल असोजमा नवलपरासीको अरुणखोलामा वरिष्ठ लोक तथा दोहोरी गायक एवं सर्जक अम्बर विरही गुरुङको अध्यक्षतामा तदर्थ समिति गठन भएसँगै सुरु भएको हो । प्रतिष्ठानको विधान–२०५८ ले गुरुङलाई संस्थापक अध्यक्षका रूपमा उल्लेख गरेको छ ।
प्रतिष्ठानका अनुसार हाल देशका सातै प्रदेश, ७० जिल्ला, उपत्यका तथा विदेशमा समेत गरी करिब १०० समिति रहेका छन् । प्रतिष्ठानमा करिब ४५ सय आजीवन सदस्यसहित ठूलो संख्यामा कलाकार, स्रष्टा तथा शुभेच्छुक आबद्ध रहेको जनाइएको छ ।
प्रतिष्ठानले बर्दिबासमा आयोजना हुने महाधिवेशनलाई नेपाली लोक तथा दोहोरीगीत क्षेत्रको महत्वपूर्ण राष्ट्रिय कार्यक्रमका रूपमा सफल बनाउन स्थानीय तह, उद्योगी–व्यवसायी, संघ–संस्था, सञ्चारकर्मी तथा स्थानीय बासिन्दासँग सहकार्य र समन्वय भइरहेको जनाएको छ ।
