रोयल कम्पलेक्सको आउटलेट बर्दिबासमा सञ्चालन

माधव पौडेल
बर्दिबास, महोत्तरी

फेन्सी तथा आधुनिक पहिरनका ग्राहकलाई लक्षित गर्दै विश्व बजारमा चर्चित ब्राण्डका रेडिमेड कपडा तथा फेन्सी सामग्री सहज र सुलभ मूल्यमा उपलब्ध गराउने उद्देश्यले रोयल कम्पलेक्सको नयाँ आउटलेट बर्दिबासमा सञ्चालनमा आएको छ।

बर्दिबास–औरही सडकखण्डमा रहेको रामनाथ साहको घर भाडामा लिएर सञ्चालनमा ल्याइएको आउटलेटको उद्घाटनसँगै ग्राहकका लागि विभिन्न ब्राण्डका कपडा तथा फेन्सी सामग्री उपलब्ध हुन थालेका छन्। स्थानीयस्तरमै अन्तर्राष्ट्रिय बजारमा प्रचलित ब्राण्डका सामग्री उपलब्ध गराउने उद्देश्यले आउटलेट सञ्चालनमा ल्याइएको सञ्चालक अभि रहमानले जानकारी दिए।

आउटलेटमा डेनिम, ब्ल्याकबर्डलगायत विश्व बजारमा परिचित कम्पनीका रेडिमेड कपडा तथा अन्य फेन्सी सामग्री उपलब्ध रहेको सञ्चालक रहमानले बताए। ग्राहकको रोजाइ, गुणस्तर र मूल्यलाई ध्यानमा राखेर विभिन्न प्रकारका सामग्री एउटै स्थानबाट उपलब्ध गराउने प्रयास गरिएको उनको भनाइ छ।

आउटलेट सञ्चालनको अवसरमा ग्राहकलाई विशेष छुट तथा उपहारको व्यवस्था समेत गरिएको छ। उद्घाटनको पहिलो तीन दिनसम्म खरिदमा २० प्रतिशतसम्म छुट उपलब्ध गराइने सञ्चालकले बताएका छन्। त्यसैगरी तीन हजार रुपैयाँभन्दा बढीको सामान खरिद गर्ने ग्राहकलाई बम्पर उपहार कुपन प्रदान गरिनेछ।

बम्पर उपहारअन्तर्गत पहिलो पुरस्कार स्कुटर, दोस्रो पुरस्कार वासिङ मेसिन र तेस्रो पुरस्कार कुलर राखिएको छ। यसले ग्राहकलाई खरिदसँगै उपहार जित्ने अवसरसमेत प्रदान गर्ने सञ्चालकको भनाइ छ।

बर्दिबासमा नयाँ आउटलेट सञ्चालन गर्नुको मुख्य उद्देश्य महोत्तरीसँगै छिमेकी सर्लाही र सिन्धुली जिल्लाका ग्राहकलाई समेत लक्षित गरी गुणस्तरीय तथा ब्राण्डेड कपडा स्थानीय बजारमै उपलब्ध गराउनु रहेको रहमानले बताए।

यसअघि अन्तर्राष्ट्रिय स्तरका ब्राण्डका कपडा तथा फेन्सी सामग्री खरिद गर्न काठमाडौंलगायत ठूला सहरमा जानुपर्ने बाध्यता रहेको भन्दै सञ्चालक रहमानले अब त्यस्तो आवश्यकता कम हुने दाबी गरे। “ग्राहकले काठमाडौंमा पाउने गुणस्तर र ब्राण्डका सामग्री बर्दिबासमै सहज रूपमा पाउन सकून् भन्ने उद्देश्यले आउटलेट सञ्चालनमा ल्याएका हौं,” उनले भने।

बर्दिबास पछिल्लो समय व्यापारिक केन्द्रका रूपमा विस्तार हुँदै गएको र आसपासका जिल्लाबाट समेत ठूलो संख्यामा ग्राहक आउने भएकाले यहाँ नयाँ व्यवसायको सम्भावना देखेर आउटलेट सञ्चालन गरिएको सञ्चालकको भनाइ छ।

स्थानीय बजारमै विभिन्न ब्राण्डका कपडा, नयाँ डिजाइन र गुणस्तरीय फेन्सी सामग्री उपलब्ध हुन थालेपछि बर्दिबास तथा आसपासका उपभोक्ताले समेत सुविधा पाउने अपेक्षा गरिएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...