आध्या मार्ट सञ्चालनमा आएसँगै बर्दिबासको व्यापार व्यवसाय चलायमान हुने विश्वास

निकेश खनाल

बर्दिबास

महोत्तरीको बर्दिबास नगरपालिका–१ मा करोडौँ रुपैयाँको लगानीमा ‘आध्या मार्ट’ सञ्चालनमा आएको छ। आइतबारदेखि सञ्चालनमा आएको मार्टले बर्दिबासको व्यापार व्यवसायलाई थप चलायमान बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

बर्दिबासका स्थानीय समाजसेवी रामनारायण महतोको लगानीमा स्थापना गरिएको मार्टको उद्घाटन नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीले एक विशेष कार्यक्रमबीच गरेका हुन्।

मार्टको उद्घाटनपछि सञ्चारकर्मीसंगबोल्दै नगरप्रमुख क्षेत्रीले नयाँ व्यावसायिक प्रतिष्ठानको सञ्चालनले स्थानीय बजारको आर्थिक गतिविधि बढाउन तथा व्यापार व्यवसाय विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए। निजी क्षेत्रको लगानीले स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्नुका साथै आर्थिक गतिविधिलाई थप गति दिने उनको भनाइ थियो।

बर्दिबासमा पछिल्लो समय नयाँ व्यवसाय तथा व्यावसायिक प्रतिष्ठान खुल्ने क्रम बढ्दै जाँदा स्थानीय बजारको व्यावसायिक वातावरण थप सुदृढ हुने अपेक्षा गरिएको छ। आध्या मार्टको सञ्चालनले पनि बर्दिबासको व्यापारिक गतिविधि विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

मार्टका सञ्चालक महतोका अनुसार आध्या मार्टमा खाद्यान्न, घरायसी सामग्री, कस्मेटिक सामान, बालबालिकाका खेलौना, भान्सामा प्रयोग हुने भाँडाकुँडालगायत दैनिक उपभोग्य सामग्री उपलब्ध हुनेछन्।

एउटै स्थानबाट उपभोक्ताले विभिन्न प्रकारका आवश्यक सामग्री सहज रूपमा खरिद गर्न सकून् भन्ने उद्देश्यले मार्ट सञ्चालनमा ल्याइएको उनले बताए।

आध्या मार्ट सञ्चालनमा आएसँगै स्थानीय उपभोक्तालाई दैनिक आवश्यकताका सामग्री खरिद गर्न सहज हुनुका साथै बर्दिबासको व्यापार व्यवसायमा थप चहलपहल बढ्ने अपेक्षा गरिएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...