बर्दिबासमा बाल कचहरी : बालमैत्री बजेट र अधिकार सुनिश्चित गर्न बालबालिकाको माग

निकिता खनाल
बर्दिबास
बालबालिकामा लगानी वृद्धि गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्न महोत्तरीको बर्दिबासमा सोमबार बाल कचहरी आयोजना गरिएको छ। बालबालिकासम्बन्धी स्थानीय नीतिको कार्यान्वयन, बालकेन्द्रित बजेट र विद्यालयमा भोग्नुपरेका समस्याबारे प्रश्न उठाउँदै बालबालिकाले आफ्ना अधिकारका लागि आवाज उठाएका छन्।

सेभ द,चिल्ड्रेनको आर्थिक सहयोग,सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासको प्राविधिक सहयोग र बर्दिबास नगर बाल सञ्जालको आयोजनामा सञ्चालन भएको कचहरीमा नगरपालिकाभरिका बाल सञ्जालमा आबद्ध बालबालिकाले बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्री प्रमुख प्रशासकीय अधिकृत जयराम गजुरेल शिक्षा शाखाका अधिकृत रोमन निरौला स्वास्थ्य शखाका प्रमुख शुरेश पासवान नगरपालिकाका जनप्रतिनिधि तथा बिभिन्न सरोकारवालाहरु समक्ष आफ्ना समस्या र माग राखेका थिए।
बर्दिबास नगर बाल सञ्जालकी उपाध्यक्ष ईशिका ढुंगेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बालबालिकाले विद्यालय तथा समुदायमा दैनिक रूपमा भोगेका र देखेका समस्या, चुनौती र समाधानका उपायबारे खुलेर प्रश्न गरेका थिए।

बाल कचहरीमा सहभागी बालबालिकाले विद्यालयमा महिनावारीका बेला सेनेटरी प्याड परिवर्तन गर्न सहज व्यवस्था मिलाउनुपर्ने, स्वच्छ खानेपानी उपलब्ध गराउनुपर्ने तथा छात्रामैत्री शौचालय निर्माण र व्यवस्थापन गर्नुपर्ने माग राखेका थिए। विद्यालयमा सरसफाइ, खानेपानी र शौचालयको उचित व्यवस्थापनलाई प्राथमिकता दिनुपर्नेमा उनीहरूले जोड दिएका थिए।

त्यसैगरी, बालबालिकाको सर्वाङ्गीण विकासका लागि खेलकुदका आवश्यक पूर्वाधार र सामग्रीको व्यवस्था गर्नुपर्ने, विकास निर्माणका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गरी युवा पुस्ताका लागि रोजगारीका अवसर सिर्जना गर्नुपर्ने विषय पनि उठाइएको थियो।
बालबालिकाले विद्यालय व्यवस्थापन समितिमा आफ्नो सहभागिता सुनिश्चित गर्न सम्बन्धित विद्यालयलाई परिपत्र गर्नुपर्ने र त्यसको कार्यान्वयन भए–नभएको अनुगमन गर्नुपर्ने मागसमेत गरेका थिए। अपाङ्गता भएका बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउन स्थानीय सरकारले विशेष पहल गर्नुपर्ने उनीहरूको भनाइ थियो।
बालबालिकाले उठाएका प्रश्न तथा समस्याबारे बर्दिबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम गजुरेल र नगरपालिकाको महिला तथा बालबालिका शाखा,शिक्षा शाखा लगायत बिभिन्न सरोकारवाला निकायका प्रतिनिधिले बालबालिकाको मागलाई सम्बोधन गरेका थिए। उनीहरूले बालबालिकाले विद्यालयमा भोगिरहेका र देखेका समस्या, आधारभूत सुविधाको व्यवस्थापन तथा अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच विस्तारका विषयमा नगरपालिकाको ध्यानाकर्षण गराएका थिए।

कचहरीमा बालबालिकाले कुलत, लागुऔषध दुव्र्यसन र बालविवाहजस्ता सामाजिक समस्याबारे पनि प्रश्न उठाएका थिए। बालबालिकालाई सामाजिक विकृति र विभिन्न जोखिमबाट जोगाउन स्थानीय सरकार, विद्यालय, अभिभावक तथा समुदायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको विषयमा छलफल भएको थियो।

बर्दिबासमा समुदायका जल्दाबल्दा सवालमा भेला भएर सामूहिक छलफल तथा निर्णय गर्ने पुरानो अभ्यासलाई बालबालिकाको सहभागितासँग जोड्दै बाल कचहरी आयोजना गरिएको हो। यसले बालबालिकालाई आफ्ना समस्या पहिचान गर्न, सम्बन्धित निकायसँग प्रश्न गर्न र निर्णय प्रक्रियामा सहभागी हुन प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ।

बालबालिकाका समस्या सुन्ने र उनीहरूलाई आफ्ना अधिकारबारे प्रश्न गर्ने अवसर प्रदान गर्ने यस्ता कार्यक्रमले स्थानीय नीति, योजना तथा बजेट निर्माणमा बालबालिकाको सहभागिता बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ। साथै, बालबालिकाका आवश्यकता र सवाललाई स्थानीय सरकारको प्राथमिकतामा राख्दै बालमैत्री वातावरण निर्माण गर्न पनि यस्ता कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...