आज्ञा खबर
जनकपुरधाम
रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन बनेका मधेश प्रदेशका १९२ जनामध्ये ३० जना परिवार तथा आफन्तको सम्पर्कमा आएका छन्। अझै १६२ जना भने सम्पर्कविहीन रहेको मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीपछि हराइरहेका व्यक्तिहरूको खोजी तथा उनीहरूको अवस्थाबारे जानकारी संकलन गर्ने कार्य जारी छ। सम्पर्कमा आएकामध्ये पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीका नागरिक रहेका छन्।
प्रहरीका अनुसार पर्साको वीरगञ्ज महानगरपालिकाका ज्ञानबहादुर थिङ र श्याम मोक्तान सम्पर्कमा आएका छन्। बाराको कलैया उपमहानगरपालिका–२२ का सत्यम राम तथा स्वर्ण गाउँपालिका–३ का रुपेश गुप्ता पनि परिवारको सम्पर्कमा आएका छन्।
त्यस्तै, रौतहटको गढीमाई नगरपालिका–७ का मोविदा खातुन, सकिना खातुन र सलमान अन्सारी तथा ईशनाथ नगरपालिका–४ का सेख मजिद सम्पर्कमा आएका छन्। चन्द्रपुर नगरपालिकाका पवित्रा नेपाल सिलवाल र सम्राट सिलवाल पनि सम्पर्कमा आएको प्रहरीले जनाएको छ।
सर्लाहीको लालबन्दी नगरपालिका–१ का वृजकिशोर दास र सुनिता दास तथा बागमती नगरपालिका–६ का दिपेश थापा पनि सम्पर्कमा आएका छन्। महोत्तरीका जलेश्वर नगरपालिका–१ का राकेश कुमार यादव, विपीन कुमार मण्डल र श्रीकेश यादव तथा लोहारपट्टीका युवराज पाण्डे, औरही नगरपालिका–९ का सचिन कुमार यादव, गौशाला नगरपालिका–६ का आदित्य नारायण यादव र बर्दिबास नगरपालिकाका विकास भारतीको समेत टेलिफोनमार्फत सम्पर्क भएको प्रहरीले जनाएको छ।
धनुषाको सबैला नगरपालिकाका लक्ष्मण मेहता, हंसपुर नगरपालिकाकी दयावतीदेवी यादव, विजय कुमार यादव र सुरेश पजियार तथा जनकपुरधाम उपमहानगरपालिका–४ का रीतिक झा र विक्रम ठाकुर पनि सम्पर्कमा आएका छन्। जनकपुरधाम–११ का सुशान्त यादव, सिरहाको गोलबजार नगरपालिका–१० का टार्जन बलम्पाकी, लहान नगरपालिका–४ का उमेश यादव र सप्तरीको कञ्चनरुप नगरपालिका–८ का अजय मरिक पनि सम्पर्कमा आएको प्रहरीले जनाएको छ।
प्रहरीको पछिल्लो विवरणअनुसार सप्तरीका ४८, पर्साका ३८, बाराका २३, सर्लाहीका १८, रौतहटका १३, सिरहाका १२, महोत्तरीका १० र धनुषाका सात जना अझै सम्पर्कविहीन छन्।
बाढी प्रभावित तथा सम्पर्कविहीन नागरिकको खोजी, उद्धार र अवस्थाबारे जानकारी लिने कामलाई प्रहरीले निरन्तरता दिएको जनाएको छ।
