आज्ञा खबर
काठमाडौं
नेपाल–चीन सीमाक्षेत्रमा बनेको ताल फुट्न सक्ने सम्भावना देखिएपछि भोटेकोशी, त्रिशूलीलगायतका नदी तथा खोलामा पानीको सतह अचानक बढ्न सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जलस्रोत तथा जलविज्ञान अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि विभिन्न नदी तथा खोलामा पानीको बहाव बढ्ने सम्भावना रहेको छ। विशेषगरी रसुवा र नुवाकोट भएर बग्ने नदी आसपासका बासिन्दालाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै सावधानी अपनाउन आग्रह गरिएको छ।
महाशाखाका बाढीविद् सरस्वती विष्टका अनुसार नेपाल–चीन सीमाक्षेत्रमा बनेको ताल कुनै पनि बेला फुट्न सक्ने भएकाले त्यसबाट तल्लो तटीय क्षेत्रमा अचानक बाढी आउन सक्ने जोखिम छ। वर्षाको सम्भावना समेत रहेकाले जोखिम थप बढ्न सक्ने उनको भनाइ छ।
उनले अर्को सूचना जारी नभएसम्म नदी तथा खोलाको तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेकी छन्।
महाशाखाले कोशी, बागमती तथा गण्डकी क्षेत्रका साथै देशका विभिन्न पहाडी र तराईका जिल्लामा समेत नदी तथा खोलाको जलसतह बढ्न सक्ने जनाएको छ। ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं उपत्यका, धादिङ, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ, मनाङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङलगायतका जिल्लाका नदी तथा खोलामा समेत सतर्कता आवश्यक रहेको महाशाखाले जनाएको छ।
यसैगरी रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, सुर्खेत, जाजरकोट, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर आसपासका नदी तथा खोलामा पनि पानीको बहाव बढ्न सक्ने अनुमान गरिएको छ।
सम्भावित आकस्मिक बाढीबाट जनधनको क्षति हुन नदिन नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा नदीको किनार भएर यात्रा गर्दा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
