आज्ञा खबर
काठमाडौं
रसुवासहित विभिन्न जिल्लामा आएको बाढी तथा विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा करिब आठ अर्ब रुपैयाँ संकलन भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै बाढी प्रभावितका लागि नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमार्फत आर्थिक सहयोग जुटिरहेको जानकारी दिएका हुन्।
प्रधानमन्त्री शाहका अनुसार बुधबारसम्म राहत कोषमा ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको छ। संकलित रकममध्ये यसअघि १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निकासा गरिएको थियो।
निकासा गरिएको रकममध्ये ६ करोड ७५ लाख रुपैयाँ रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका बाढी प्रभावित १५ वटा स्थानीय तहमा पठाइसकिएको जनाइएको छ।
निकासा पश्चात् प्रधानमन्त्री राहत कोषमा हाल ६ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ मौज्दात रहेको प्रधानमन्त्री शाहले बताएका छन्। यसबाहेक कोषमा ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर समेत जम्मा भएको छ।
सरकारले बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यकताअनुसार कोषमा संकलित रकम परिचालन गरिरहेको जनाएको छ।
