आज्ञा खबर
जनकपुरधाम
सामाजिक सद्भाव, शान्ति सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्न सिरहा जिल्लामा सामाजिक सञ्जालदेखि सार्वजनिक कार्यक्रमसम्म निगरानी र समन्वय बढाउने निर्णय गरिएको छ।
जिल्ला प्रशासन कार्यालय सिरहाको पहलमा बुधबार आयोजित सर्वपक्षीय बैठकले आन्दोलन, विरोध तथा अन्य सार्वजनिक कार्यक्रमका क्रममा सरकारी वा निजी सम्पत्तिमा क्षति पुर्याउने व्यक्तिको पहिचान गरी कानुनी कारबाही अघि बढाउने निर्णय गरेको हो।
बैठकले जिल्लामा आवश्यकताअनुसार सामाजिक सद्भाव कायम गर्ने स्थायी संयन्त्र निर्माण गर्ने, नियमित रूपमा बैठक बस्ने, गरिएका निर्णयको प्रभावकारी कार्यान्वयन गर्ने तथा त्यसको प्रचार–प्रसारलाई व्यवस्थित बनाउने निर्णयसमेत गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो।
त्यस्तै, सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह तथा उत्तेजना फैलाउने गतिविधिमाथि निगरानी बढाउने निर्णय भएको छ। त्यस्ता गतिविधिमा संलग्न व्यक्तिको विवरण संकलन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।
बैठकले सिरहाका सबै स्थानीय तहलाई राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाज, पत्रकार तथा विभिन्न धार्मिक समुदायका प्रतिनिधिको सहभागितामा सामाजिक सद्भाव प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्ने निर्णय पनि गरेको छ।
यसैबीच, सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति बैठकले दुःख व्यक्त गर्दै घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन तथा पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।
बैठकले ध्वनि प्रदूषण नियन्त्रण तथा अफवाह फैलाउने गतिविधिमाथि निगरानी बढाउने निर्णयसमेत गरेको छ। सिरहा जिल्लामा डिजे तथा अत्यधिक ध्वनिका कारण जनस्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै विद्यार्थीको पठनपाठन प्रभावित भएको र सामाजिक वातावरणमा समेत असर परेको निष्कर्ष निकाल्दै मापदण्डविपरीत डिजे तथा उच्च ध्वनि प्रयोगमा रोक लगाउने निर्णय गरिएको हो।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको निर्णयमा सामाजिक एकता, शान्ति सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्न राजनीतिक दल, नागरिक समाज, सञ्चार क्षेत्र, धार्मिक समुदाय तथा आम नागरिकलाई सहयोग गर्न अपिल गरिएको छ।
