दुधमती पुल निर्माणमा ढिलाइ हुँदा ठेक्का सम्झौता तोडियो

[sharethis-inline-buttons]

आज्ञा खबर

जनकपुरधाम

धनुषाको ढल्केबर–जनकपुर–जटही सडकखण्डअन्तर्गत जनकपुरधाममा निर्माणाधीन दुधमती नदीको पुल लामो समयसम्म सम्पन्न हुन नसक्दा स्थानीयवासी तथा यात्रुहरू समस्यामा परेका छन्। भारतको जटही नाकासँग जनकपुरधामलाई जोड्ने महत्वपूर्ण सडक संरचनाका रूपमा हेरिएको पुल निर्माणमा भएको ढिलाइले आवागमनमा समेत असर परेको छ।

पुल निर्माणका लागि सडक डिभिजन कार्यालय जनकपुरधाम र नागार्जुन हेम जेभीबीच २०७६ साल जेठ २५ गते सम्झौता भएको थियो। सम्झौताअनुसार १३ करोड ९५ लाख ६४ हजार ३ सय ३८ रुपैयाँको लागतमा पुल निर्माण गर्ने तय भएको थियो।

निर्माण कार्य निर्धारित समयमा अघि बढ्न नसकेपछि पुल लामो समयदेखि अलपत्र अवस्थामा रहेको स्थानीयवासीको भनाइ छ। स्थानीय सुबोध नायकले पुल निर्माणको काम लामो समयदेखि रोकिँदा दैनिक आवतजावत गर्ने नागरिक तथा यात्रुले सास्ती खेप्नुपरेको बताए।

सडक डिभिजन कार्यालय जनकपुरधामका अनुसार पुल निर्माण सम्पन्न गर्नुपर्ने समय २०८२ साल माघ १७ गतेसम्म तोकिएको थियो। तर, तोकिएको अवधिमा काम सम्पन्न नभएपछि निर्माण कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको कार्यालयका प्रमुख इन्जिनियर दारोगा प्रसादले जानकारी दिए।

ढल्केबर–जनकपुर–जटही छ लेन सडक मधेश प्रदेशको महत्वपूर्ण सडक आयोजनामध्ये एक हो। भारतसँगको व्यापारिक आवागमन, धार्मिक पर्यटन तथा स्थानीय यातायातलाई सहज बनाउने उद्देश्यले यस सडकखण्डमा विभिन्न पूर्वाधार निर्माणका काम अघि बढाइएको हो।

तर, रणनीतिक महत्व बोकेको सडकखण्डमा पर्ने दुधमती पुल नै समयमै निर्माण सम्पन्न हुन नसक्दा आयोजनाको प्रभावकारितामाथि प्रश्न उठेको छ। पुल निर्माणमा देखिएको अवरोध हटाएर नयाँ प्रक्रियाबाट काम अघि बढाउनुपर्ने स्थानीयवासीको माग छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...