आज्ञा खबर
सिरहा
सिरहाको गोलबजार नगरपालिकाका विभिन्न क्षेत्रमा बिहीबार दिउँसोदेखि कर्फ्यू आदेश जारी गरिएको छ। पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाएको हो।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार गोलबजार नगरपालिकाका संवेदनशील क्षेत्रलाई समेटेर कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ। प्रशासनका अनुसार ती क्षेत्रमा आन्दोलन, प्रदर्शन वा हुलदंगा हुन सक्ने र त्यसबाट शान्ति सुरक्षामा गम्भीर असर पर्न सक्ने अवस्था देखिएपछि कर्फ्यू लगाउने निर्णय गरिएको हो।
कर्फ्यू लागू हुने क्षेत्र पूर्वतर्फ गोलबजार नगरपालिका–३ स्थित कसहा खोलादेखि पश्चिमतर्फ गोलबजार नगरपालिकाको चोहर्वा चोकसम्म रहेको छ। त्यस्तै, उत्तरतर्फ गोलबजार नगरपालिका–६ स्थित सैनिक चोकदेखि दक्षिणतर्फ गोलबजार नगरपालिका–४ मा रहेको राप्रराप्र बहुमुखी क्याम्पस आसपासको क्षेत्रसमेत कर्फ्यूको दायरामा परेको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा कर्फ्यू अवधिमा तोकिएको क्षेत्रमा आवतजावत तथा सार्वजनिक गतिविधिमा प्रतिबन्ध रहने उल्लेख छ। शान्ति सुरक्षा कायम गर्न तथा सम्भावित अप्रिय घटना रोक्न सुरक्षा निकायलाई परिचालन गरिएको जनाइएको छ।
प्रशासनले जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको निरन्तर समीक्षा भइरहेको जनाएको छ। अवस्था सामान्य भएपछि कर्फ्यू आदेश हटाउने वा आवश्यकताअनुसार थप निर्णय लिइने बताइएको छ।
