आज्ञा खबर
जनकपुरधाम
धनुषा जिल्लाका विभिन्न संवेदनशील क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला सुरक्षा समितिको बिहीबार बसेको बैठकको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम कर्फ्यु आदेश जारी गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको सूचनाअनुसार २०८३ साल श्रावण १४ गते दिउँसो ३ः३० बजेदेखि अर्को आदेश जारी नभएसम्म कर्फ्यु लागू हुनेछ।
कर्फ्यु अवधिमा तोकिएको क्षेत्रभित्र आवतजावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा तथा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ। आदेश उल्लंघन गर्ने व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ।

प्रशासनले कर्फ्यु लागू हुने क्षेत्रको चारकिल्लासमेत तोकेको छ। जसअनुसार उत्तरमा लक्ष्मीनिया हाटबजार चोक (लक्ष्मीनिया गाउँपालिका–७) हुँदै पश्चिम सिनुरजोडा चोकसम्म, पूर्वमा लक्ष्मीपुर बगेवा हुँदै बेलौनी रोड–एम.क्यू. स्टिलबाट ५०० मिटर पूर्वस्थित पेट्रोल पम्पदेखि हुलाकी सडक हुँदै राष्ट्रिय प्राथमिक विद्यालयसम्म, दक्षिणमा नगराइन नगरपालिका हुँदै नगराइन चोकसम्म तथा पश्चिममा सिनुरजोडा–सोहनी–मनिमण्डप–नेपाल नर्सरी–इस्कोन जनकपुर–दुधमती पुल–बेला–कादरी मस्जिदसम्मको क्षेत्र कर्फ्युको दायरामा परेको छ।
जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेशको पूर्ण पालना गरी शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव कायम गर्न सम्बन्धित सबैमा आग्रह गरेको छ।
