आज्ञा खबर
धनुषा
मुक्त हरवा–चरवा समुदायलाई कानुनी रूपमा सशक्त बनाउने उद्देश्यले धनुषाको शहीदनगर नगरपालिकामा कानुनी साक्षरता क्लिनिक सञ्चालनमा आएको छ। राष्ट्रिय दलित नेटवर्क, नेपालको न्याय केन्द्र कार्यक्रमअन्तर्गत सोमबारदेखि शहीदनगर नगरपालिका–५ सिमरापट्टी टोलमा समुदाय लक्षित कानुनी साक्षरता कार्यक्रम सुरु गरिएको हो।
कार्यक्रमको उद्घाटन गर्दै शहीदनगर नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिकी संयोजक सुनीता सिंहले संविधानले प्रत्याभूत गरेका अधिकारको प्रभावकारी उपयोगका लागि कानुनको ज्ञान अपरिहार्य रहेको बताइन्। उनले अन्याय, जातीय विभेद, श्रम शोषण तथा लैङ्गिक हिंसाका घटनामा पीडित नागरिकले सहज, निष्पक्ष र पहुँचयोग्य न्याय पाउने वातावरण निर्माण गर्न न्यायिक समिति सदैव प्रतिबद्ध रहने उल्लेख गरिन्।
राष्ट्रिय दलित नेटवर्क, नेपालका केन्द्रीय उपाध्यक्ष श्याम सुनारले मुक्त हरवा–चरवा समुदायको अधिकार, स्वतन्त्रता, पुनःस्थापना तथा न्यायमा पहुँच सुनिश्चित गर्न स्थानीय सरकारले कानुनी साक्षरता, पैरवी, सामुदायिक सशक्तीकरण र निःशुल्क कानुनी सहायता कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए। उनले समुदायलाई आफ्ना अधिकार प्रयोग गर्न सक्षम बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको धारणा राखे।
राष्ट्रिय दलित नेटवर्क, नेपालका हरवा–चरवा अभियानकर्मी राम दयाल माझीका अनुसार शहीदनगर नगरपालिकाका नौवटै वडामा प्रशिक्षित पैरालिगल र कानुनी अधिकृतमार्फत स्थायी तथा मोबाइल कानुनी सहायता क्लिनिक सञ्चालन गरिनेछ। क्लिनिकमार्फत नागरिकता, भूमि अधिकार, सामाजिक सुरक्षा, श्रम अधिकार, निःशुल्क कानुनी सहायता, लैङ्गिक न्याय तथा जातीय विभेदविरुद्धका कानुनी व्यवस्थाबारे जानकारी प्रदान गरिनुका साथै आवश्यकताअनुसार व्यक्तिगत कानुनी परामर्श, उजुरी दर्ता तथा न्यायिक सेवामा पहुँचका लागि सहजीकरण गरिने उनले जानकारी दिए।
कार्यक्रममा शहीदनगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अनिल कुमार झा, राष्ट्रिय दलित नेटवर्क, नेपालका केन्द्रीय कोषाध्यक्ष जंगबहादुर सुनार तथा कार्यकारी निर्देशक हुकुम सार्कीले कानुनी साक्षरताको महत्व र समुदायमा यसको प्रभावबारे धारणा व्यक्त गरेका थिए।
शहीदनगर नगरपालिका–५ का वडा अध्यक्ष सुरेश कापरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन राष्ट्रिय दलित नेटवर्क, नेपालकी कानुनी अधिकृत सञ्जु पाण्डेले गरेकी थिइन् भने शहीदनगर नगरपालिका स्तरीय हरवा–चरवा पैरालिगल मञ्चकी अध्यक्ष मञ्जु महराले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।
