साउने महाकुम्भ मेला टुटेश्वरमा धार्मिक र आर्थिक चहलपहल

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिबास

महोत्तरीको उत्तरी भेगस्थित बर्दिबास नगरपालिका–५ मा रहेको ऐतिहासिक तथा धार्मिक महत्त्वको टुटेश्वर महादेव मन्दिरमा सोमबारदेखि बहुचर्चित साउने महाकुम्भ मेला सुरु भएको छ। श्रावण महिनाभर प्रत्येक सोमबार लाग्ने यो मेला मधेश प्रदेशकै प्रमुख धार्मिक मेलामध्ये एक मानिन्छ। मन्दिर संरक्षण समितिका अनुसार यस वर्षको मेलामा एक महिनाको अवधिमा २० देखि २५ लाखसम्म स्वदेशी तथा विदेशी श्रद्धालु भक्तजन टुटेश्वर महादेवको दर्शनका लागि आउने अनुमान गरिएको छ।

श्रावण महिनामा भगवान् शिवको पूजा–आराधनाको विशेष धार्मिक महत्त्व रहने भएकाले नेपालका विभिन्न जिल्ला तथा छिमेकी भारतबाट समेत हजारौं भक्तजन टुटेश्वर मन्दिर पुग्ने गरेका छन्। विशेषगरी साउनको प्रत्येक सोमबार यहाँ पूजा–अर्चना र जलाभिषेक गरे बाँझोपनको समस्या हट्ने, मनोकामना पूरा हुने तथा पापकर्म नाश हुने धार्मिक विश्वास रहँदै आएको छ। यही आस्थाले वर्षेनी लाखौं भक्तजनलाई टुटेश्वरसम्म तान्ने गरेको छ।

यस वर्षको मेलालाई व्यवस्थित र आकर्षक बनाउन मन्दिर परिसरलाई विशेष रूपमा सजाइएको छ। मन्दिरलाई बेहुलीझैँ सिँगारिएको छ भने परिसरभर धार्मिक वातावरण झल्किने गरी सजावट गरिएको छ। दर्शनार्थीको सहजताका लागि प्रवेश तथा बाहिरिने मार्ग छुट्टाछुट्टै बनाइएको छ।

मेलामा धार्मिक गतिविधिसँगै व्यापारिक र मनोरञ्जनात्मक गतिविधि पनि उल्लेख्य रूपमा बढेका छन्। मेला क्षेत्रमा दुई सय ५० भन्दा बढी व्यापारिक स्टल सञ्चालनमा आएका छन्। पूजासामग्री, स्थानीय उत्पादन, कपडा, खेलौना, मिठाइ, घरेलु सामग्रीदेखि विभिन्न खाद्य परिकारका पसलहरू सञ्चालनमा छन्। बालबालिका तथा परिवारलाई लक्षित गर्दै विद्युतीय पिङ, मनोरञ्जनात्मक खेल तथा अन्य आकर्षणसमेत राखिएका छन्, जसले मेलालाई धार्मिकसँगै पारिवारिक गन्तव्यका रूपमा पनि स्थापित गरेको छ।

श्रद्धालुको अत्यधिक भीड र लामो समय लाइनमा बस्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षालाई पनि प्राथमिकतामा राखिएको छ। गर्मीका कारण हुन सक्ने स्वास्थ्य समस्यालाई ध्यानमा राखी मेला क्षेत्रमा स्वास्थ्य सहायता कक्ष, प्राथमिक उपचार केन्द्र तथा सहायता कक्ष स्थापना गरिएको छ। यसैगरी मन्दिर परीसरमा स्वयंसेवकहरूलाई समेत परिचालन गरी आवश्यक परे तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

मेलाको सुरक्षा व्यवस्थालाई पनि विशेष प्राथमिकता दिइएको छ। मन्दिर संरक्षण समितिले आवश्यक संख्यामा स्वयंसेवक परिचालन गरेको छ भने नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा अन्य सुरक्षा निकायका सुरक्षाकर्मीहरू चौबीसै घण्टा परिचालन भएका छन्। भीड व्यवस्थापन, सडक सुरक्षा, हराएका व्यक्तिको खोजी, आपत्कालीन उद्धार तथा मानव सुरक्षासम्बन्धी विषयमा सुरक्षा निकायले विशेष सतर्कता अपनाएका छन्।

मेला सुरु भएसँगै मन्दिर वरपर व्यापारिक गतिविधि पनि उल्लेख्य रूपमा बढेको छ। महोत्तरीसँगै बारा, पर्सा, सप्तरी लगायतका जिल्लाबाट व्यापारीहरू यहाँ आएका छन् भने भारतबाट समेत ठूलो संख्यामा व्यापारी सहभागी भएका छन्। त्यसैगरी श्रद्धालुलाई स्वच्छ र व्यवस्थित वातावरण उपलब्ध गराउने उद्देश्यले मन्दिर परिसर तथा आसपासका क्षेत्रमा सरसफाइलाई विशेष प्राथमिकता दिइएको छ। फोहोर व्यवस्थापन, खानेपानी, शौचालय तथा अन्य आधारभूत सुविधाको व्यवस्थापनमा मन्दिर संरक्षण समिति, स्थानीय स्वयंसेवक र सम्बन्धित निकाय सक्रिय रहेका छन्।

टुटेश्वर महादेव मन्दिर मधेश प्रदेशकै प्रमुख धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित छ। यस वर्षको साउने महाकुम्भ मेलाले धार्मिक आस्था, सांस्कृतिक परम्परा, स्थानीय व्यापार र पर्यटनलाई एकैसाथ जोड्ने अवसर सिर्जना गरेको छ। श्रद्धालुको उल्लेख्य सहभागितासँगै टुटेश्वर क्षेत्र यतिबेला धार्मिक उत्साह, व्यापारिक चहलपहल र सांस्कृतिक रौनकताले भरिएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...