नारायण घिमिरे
बर्दीबास, महोत्तरी
निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यले महोत्तरीका होटल व्यवसायीहरूले कर्मचारी सञ्चयकोषमा आबद्ध गराउने अभियानलाई अगाडि बढाएका छन्।
होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीको आयोजनामा बर्दीबासस्थित गुञ्ज होटलमा आयोजित अन्तरक्रिया कार्यक्रममा निजी क्षेत्रका कर्मचारीलाई कर्मचारी सञ्चयकोषमा कसरी आबद्ध गराउने भन्ने विषयमा विस्तृत छलफल गरिएको हो।
संघका जिल्ला अध्यक्ष गुञ्जबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशका अध्यक्ष हिरालाल गौतमको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा कर्मचारी सञ्चयकोष मधेस प्रदेश कार्यालयका प्रमुख अर्जुन निरौलाले कोषमा आबद्ध हुँदा निजी क्षेत्रका कर्मचारीले प्राप्त गर्ने सेवा–सुविधा तथा कानुनी व्यवस्थाबारे जानकारी गराएका थिए।
मुख्य वक्ता निरौलाले निजी क्षेत्रका कर्मचारी सञ्चयकोषमा आबद्ध भएपछि सरकारी कर्मचारीसरह सामाजिक सुरक्षा तथा विभिन्न सेवा–सुविधा प्राप्त गर्न सक्ने बताए। उनका अनुसार सञ्चयकोषमा आबद्ध कर्मचारीले सहुलियत ब्याजदरमा घर निर्माण, जग्गा खरिद, घर मर्मत तथा उच्च शिक्षाका लागि ऋण लिन सक्नेछन्। साथै, सञ्चयकर्ताले आफ्नो खातामा जम्मा भएको रकमको ९५ प्रतिशतसम्म विशेष सापटीका रूपमा झिक्न सक्ने व्यवस्था पनि रहेको जानकारी दिए।
निरौलाले सञ्चयकर्ताका लागि उपलब्ध अन्य कल्याणकारी सुविधाबारे पनि प्रकाश पारे। उनका अनुसार सामान्य रोगका कारण अस्पताल भर्ना हुनुपरेमा वर्षमा एक पटक अधिकतम १ लाख रुपैयाँसम्म उपचार खर्च शोधभर्ना हुने व्यवस्था छ भने घातक रोग लागेमा अधिकतम १० लाख रुपैयाँसम्म उपचार खर्च उपलब्ध गराइन्छ।
यस्तै, दुर्घटनामा परी सञ्चयकर्ताको मृत्यु भएमा हकवालालाई २ लाख रुपैयाँ आर्थिक सहायता तथा काजकिरिया खर्चबापत ४० हजार रुपैयाँ प्रदान गरिने व्यवस्था रहेको उनले बताए। दुई पटकसम्म सुत्केरी हुने महिला सञ्चयकर्तालाई प्रत्येक पटक ७ हजार ५ सय रुपैयाँ सुत्केरी भेट उपलब्ध गराइने उनले जानकारी दिए।
रोजगारदाता संस्थाका लागि पनि सञ्चयकोष लाभदायी रहेको उल्लेख गर्दै निरौलाले आफ्ना कर्मचारीलाई कोषमा आबद्ध गराउने संस्थाले व्यवसाय विस्तार वा पूर्वाधार विकासका लागि आवश्यक परेमा १० करोड रुपैयाँभन्दा बढीको संस्थागत ऋण समेत सहुलियत ब्याजदरमा प्राप्त गर्न सक्ने बताए।
कार्यक्रममा बोल्दै नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशका अध्यक्ष हिरालाल गौतमले आफ्नो मातहतका होटल, लज तथा रिसोर्टमा कार्यरत सम्पूर्ण कर्मचारीलाई कर्मचारी सञ्चयकोषमा आबद्ध गराउन व्यवसायीहरूलाई आग्रह गरे। यस व्यवस्थाले रोजगारदाता र कर्मचारीबीचको सम्बन्ध थप सुदृढ हुनुका साथै श्रम बजारलाई सुरक्षित र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।
कार्यक्रममा बर्दीबास क्षेत्रका अधिकांश होटल व्यवसायीहरूको उत्साहजनक सहभागिता रहेको थियो। समापनका क्रममा संघका जिल्ला अध्यक्ष गुञ्जबहादुर कार्कीले कर्मचारीको सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै कर्मचारी सञ्चयकोषसँग सहकार्य गरी निजी क्षेत्रका बढीभन्दा बढी कर्मचारीलाई कोषमा आबद्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
