स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा, फ्रान्स २–० ले पराजित

[sharethis-inline-buttons]

आज्ञा खबर

काठमाडौँ

युरोपेली च्याम्पियन स्पेनले साविक उपविजेता फ्रान्सलाई २–० गोलअन्तरले पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको छ। सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गरेको स्पेनले १६ वर्षपछि पुनः विश्वकपको उपाधि नजिक पुग्न सफल भएको हो।

स्पेनले अब उपाधिका लागि अर्जेन्टिना र इङ्ग्ल्यान्डबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यसअघि स्पेनले सन् २०१० मा पहिलो पटक विश्वकपको उपाधि जितेको थियो।

स्पेनको जितमा मिकेल ओर्याजबाल र पेड्रो पोरोले समान एक–एक गोल गरे। खेलको २१औँ मिनेटमा फ्रान्सका लुकास डिग्नेले पेनाल्टी क्षेत्रभित्र लेमिन यामाललाई लडाएपछि स्पेनले पेनाल्टीको अवसर पाएको थियो। उक्त अवसरलाई मिकेल ओर्याजबालले सफलतापूर्वक गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए।

दोस्रो हाफको ५८औँ मिनेटमा पेड्रो पोरोले आकर्षक गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए। त्यसपछि फ्रान्सले खेलमा फर्किने प्रयास गरे पनि स्पेनको बलियो रक्षापंक्तिलाई भेद्न सकेन।

यस हारसँगै फ्रान्स लगातार तेस्रो पटक विश्वकपको फाइनल पुग्ने अवसरबाट वञ्चित भएको छ। साथै, यस संस्करणमा पहिलो पटक फ्रान्स कुनै गोल गर्न नसकी प्रतियोगिताबाट बाहिरिएको हो। स्पेन भने उत्कृष्ट लय कायम राख्दै विश्वकपको उपाधि जित्ने लक्ष्यसँग अब केवल एक जित टाढा पुगेको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...