आज्ञा खबर
धनुषा
धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ का सुरेश रायले वर्षौंदेखि आफू बसोबास गर्दै आएको जग्गामा घर निर्माण गरे, खेतीपाती गरे र परिवारको पालनपोषण गर्दै आए। तर, उहाँलाई एउटा अभाव सधैँ खड्किरहेको थियो—त्यो थियो आफ्नै जग्गाको कानुनी स्वामित्व प्रमाणित गर्ने लालपुर्जाको अभाव।
अब त्यो अभाव अन्त्य भएको छ। नापी कार्यालय धनुषाबाट लालपुर्जा हातमा परेपछि उहाँको खुसी शब्दमा व्यक्त गर्न सकिने अवस्था छैन। उहाँले भन्नुभयो, “हाम्रा पुर्खादेखि भोगचलन गर्दै आएको जग्गाको आज कानुनी प्रमाणपत्र प्राप्त भएको छ। अब आफ्नै सम्पत्तिको प्रमाण हातमा आएको छ। बैंकबाट ऋण लिन, छोराछोरीको भविष्यका लागि योजना बनाउन तथा अन्य कानुनी काम गर्न सहज हुनेछ।”
रायजस्तै गणेशमान चारनाथ नगरपालिका–५ र ६ का ३२८ परिवारले सोमबार गाउँब्लक जग्गाको लालपुर्जा प्राप्त गरेका छन्। पुस्तौंदेखि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा पाउनु उनीहरूका लागि केवल एउटा कागज प्राप्त गर्नु मात्र नभई लामो समयदेखि माग गर्दै आएको अधिकारको औपचारिक मान्यता पनि हो।
स्थानीयवासीका अनुसार लालपुर्जा नहुँदा जग्गा आफ्नै भए पनि त्यसको कानुनी प्रमाण प्रस्तुत गर्न कठिनाइ हुने गरेको थियो। बैंकिङ कारोबार, ऋण सुविधा, स्वामित्व हस्तान्तरण तथा अन्य सरकारी सेवा लिन अनेक समस्या झेल्नुपरेको थियो।
अब ती समस्या अन्त्य हुने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्।
नापी कार्यालय धनुषाका प्रमुख उमेश साहका अनुसार वि.सं. २०७० मा नापजाँच सम्पन्न भए पनि प्राविधिक तथा प्रशासनिक कारणले लालपुर्जा वितरण प्रक्रिया लामो समयसम्म रोकिएको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि अहिले लाभग्राहीलाई लालपुर्जा हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो।
नगर प्रमुख जितनारायण यादवले पुस्तौंदेखि भोगचलन गर्दै आएका नागरिकलाई कानुनी स्वामित्व प्रदान गर्नु राज्यको दायित्व भएको बताउनुभयो। उहाँले अझै लालपुर्जा प्राप्त गर्न बाँकी रहेका परिवारको प्रक्रिया पनि छिट्टै पूरा गरी स्वामित्वको प्रमाणपत्र उपलब्ध गराइने जानकारी दिनुभयो।
