आज्ञा खबर
महोत्तरी
मटिहानी नगरपालिका–४ र ५ का मझौरा, बिसनपुर र गोबरौरा बस्तीको अनुहार अहिले फेरिँदो छ—त्यो पनि धमाधम पिच भइरेहेका सडकले। वर्षौंसम्म धुलो–हिलो र खाल्डाखुल्डी सहेको स्थानीयबासी आज आफ्नो बस्तीमै कालोपत्रे सडक देखेर हर्षित छन्।
“देखियौँ, हमरो गाममें सडक पिच बैनरहल अई,” चन्देश्वर रजक भन्छन्—गाउँको मुख्य सडकतर्फ औँला देखाउँदै। स्थानीय भाषामै उनले भने, “आब गामक रुख बदैलगेल।” अर्थात्, अब गाउँको मुहार नै फेरियो।
सपना बन्दैछ वास्तविकता
बिसनपुरका इशाक कवारीको भनाइ झन् भावुक छ—”इन्तजार कर परैछै, सबके दिन अबैछै”। उनका अनुसार, सडक बनिरहेका छन्, बस्तीमा विकासले पाइला टेक्दैछ, अनि सबैको पालो आउनेछ।
यही उत्साह गोबरौराका शिव साहमा पनि छ। “अब त बजार जान सजिलो हुन्छ, हामीले फलफूल, तरकारी बेच्न सजिलो पाइन्छ,” उनी भन्छन्, “सडकले व्यापार पनि बढाउनेछ।”
चार किलोमिटर कालोपत्रे सडकले ल्याएको परिवर्तन
सङ्घीय सरकारको सघन सहरी विकास कार्यक्रमअन्तर्गत मटिहानी–४ को मझौरा प्रवेशद्वारदेखि बिसनपुर हुँदै मटिहानी–५ को गोबरौरासम्मको चार किलोमिटर सडकमा अहिले कालोपत्रे कार्य तीव्र गतिमा भइरहेको छ।
नगरप्रमुख हरिप्रसाद मण्डलका अनुसार सडक निर्माणपछि करिब १५ हजार जनसङ्ख्या प्रत्यक्ष लाभान्वित हुनेछ। “सडक पुगेसँगै कृषि उपज सजिलै बजार पुग्नेछ, आपत् विपत्तिको बेला समयमा अस्पताल वा गन्तव्यमा पुग्न सकिनेछ,” उनले भने।
वर्षौंको कुहिरो फाट्यो
स्थानीयबासीका लागि यो सडक केवल कालोपत्र मात्र होइन—यो वर्षौँको पर्खाइ, आशा र संघर्षको उपज हो। “अव्यवस्थित सडकले हामीलाई व्यापार, शिक्षा र स्वास्थ्य सेवामा गाह्रो बनाएको थियो,” मटिहानी–४ का वडाध्यक्ष अब्दुर गफार राइन सम्झन्छन्, “अब भने सहज बन्दैछ।”
चार करोड लागतको आयोजना
नगर कार्यपालिकाका इञ्जिनियर विमलेश साहका अनुसार, सहरी विकास तथा भवन निर्माण विभागले मटिहानी नगरपालिकालाई करबाहेक उपलब्ध गराएको रु २७ करोड ९९ लाख ७४ हजार ५७७ बजेटमध्ये, मझौरा–बिसनपुर–गोबरौरा सडकका लागि मात्रै करिब रु ४ करोड विनियोजन गरिएको हो।
“यो पहिलो चरण हो,” इञ्जिनियर साहले भने, “अन्य वडाबस्तीमा पनि विस्तार र कालोपत्र गर्दै जाने योजना छ।”
स्मार्ट सिटीको सपना
नगरप्रमुख मण्डलले नियमित अनुगमनका क्रममा निर्माण कार्य शीघ्र सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार, “नगरको हरेक बस्तीमा सडक सञ्जाल विस्तार गर्ने हाम्रो लक्ष्य हो। पूर्वाधार बलियो भयो भने मात्र समृद्धि सम्भव हुन्छ।”
स्थानीयहरू अब मटिहानीलाई ‘स्मार्ट सिटी’को रूपमा कल्पना गर्न थालेका छन्। र त, कालोपत्रे सडक मात्रै होइन, त्यो सपना पूरा हुने दिशातर्फ बढिरहेको जनविश्वास हो।





































