आज्ञा खबर
बर्दिवास
बालबालिकाले बोले, जनप्रतिनिधिले सुने—यही संवादको आधारमा सोमवार बर्दिवास नगरपालिका–७ मा बाल अधिकार, शिक्षा सुधार र भविष्य योजना सम्बन्धी एउटा जीवन्त बहस सम्पन्न भयो। कार्यक्रमको नाम थियो– गुनासो सुनुवाई, सुझाव संकलन र भावी योजना निर्माणका लागि जनप्रतिनिधिसँग बालबालिका कार्यक्रम श्रृंखला ४। आयोजक थियो—बर्दिवास नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा।
कार्यक्रममा श्री राष्ट्रिय मा.वि. प्रेमनगर, श्री जनज्योती आधारभूत विद्यालय मनहरीपुर, र श्री राष्ट्रिय आधारभूत विद्यालय फुलबारीटोलका दर्जनौं बालबालिकाको उपस्थिति थियो। उनीहरूले डिजिटल माध्यम, खेलकुद, कम्प्युटर शिक्षा, पुस्तकालयको पहुँच, कक्षा कोठाको सुधार लगायत विविध विषयमा आफ्ना सोच, आवश्यकता र असहजता जनप्रतिनिधिहरूसँग खुलस्त राखे।
कार्यक्रमको मूल आकर्षण बन्यो—बालबालिकाको प्रत्यक्ष गुनासो र सुझाव। यिनले नगर प्रमुख प्रह्लाद कुमार क्षेत्री, वडा नम्बर ७ का अध्यक्ष रामस्वगारथ यादव (भोरील), प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारी र शिक्षा शाखाका उपसचिव रेवती प्रसाद पराजुलीसँग अनुहार–अनुहारमा आफ्नो अनुभव बाँडे।
एक बालिकाले भनिन्, “हामीसँग कम्प्युटर त छ, तर चलाउने शिक्षक छैन। पुस्तकालय छ, तर किताब छैन। खेलमैदान छ, तर फुटबल छैन।” अर्का छात्रले भने, “हामीलाई डिजिटल कक्षा चाहिएको छ। मोबाइल र इन्टरनेटको जमाना छ, तर हामी कालो पाट्टी र चक,डस्टरसँग पढिरहेका छौं।”
बालबालिकाको बिषयलाई नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीलेसाहसपूर्ण प्रस्तुति र सजगताप्रति प्रशंसा जनाउँदै भने, “बालबालिकामा यस्तो चेतना हुनु हाम्रो लागि गौरवको विषय हो। हामीले गत तीन वर्षमा एसईईको नतिजा सुधार्न सकेका छौं, अब गुणस्तरीय शिक्षाको संरचनात्मक सुधारतर्फ थप बल दिनेछौं।”

उनको तर्क थियो, बर्दिवास नगरपालिकाको शैक्षिक सूचकांक अघिल्लो वर्षहरूको तुलनामा उल्लेखनीय रूपमा उकालो लागेको छ। “हामी समस्याबाट होइन, समाधानबाट भाग खोजिरहेका छौं,” उनले भने।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले बालबालिकामा प्रश्न गर्न सक्ने क्षमता विकास गर्नु शिक्षा सुधारको पहिलो खुड्किलो भएको बताए। उनले भने, “हामी चाहन्छौं, हरेक विद्यार्थीमा ‘किन’, ‘कसरी’ भन्ने जिज्ञासा जागोस्। यही जिज्ञासाले शिक्षा जीवित हुन्छ।”
उनले किताब बाहेकको जीवन शिक्षा पनि महत्त्वपूर्ण भएको भन्दै, अतिरिक्त क्रियाकलाप, सिर्जनशील कार्यक्रम र सीप विकास मूलक क्रियाकलापलाई प्राथमिकतामा राख्ने नगरपालिकाको योजना रहेको जनाए।
वडा नम्बर ७ का अध्यक्ष राम स्वगारथ यादव (भोरील) ले सामुदायिक विद्यालयप्रति समाजको ‘हेर्ने दृष्टिकोण’ नै शिक्षा असमानताको मूल कारक भएको बताए। “हाम्रो सामुदायिक विद्यालयहरूमा दक्ष शिक्षक छन्, भवन छन्, तर विश्वास छैन,” उनले दुःख व्यक्त गरे।
उनले शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिबीच त्रिकोणात्मक संवाद आवश्यक भएको बताए। “विद्यालय भित्रका गतिविधिलाई पारदर्शी र सहभागितामूलक बनाउनु पर्छ,” उनले जोड दिए।
बालबालिका आफ्ना सरोकारहरु लिएर जब नीतिनिर्मातासँग कुरा गर्छन्, त्यतिबेला ‘बाल अधिकार’ कागजमा मात्र सिमित हुँदैन। बर्दिवासको यो कार्यक्रमले यही यथार्थ देखाएको छ।
शिक्षा शाखाका उपसचिव रेवती पराजुलीले भने, “बालबालिकाको सुझाबले हामीलाई हाम्रो योजनालाई पुनः मूल्याङ्कन गर्न मद्दत गर्छ। यी आवाजहरूलाई वार्षिक कार्यक्रम निर्माणमा प्राथमिकता दिनेछौं।”
कार्यक्रममा सरोकारवालाहरूको साझा धारणा थियो—बर्दिवास नगरपालिकाले शिक्षा सुधारको यात्रामा बालबालिकालाई केन्द्रमा राख्न थालेको छ। यस्ता कार्यक्रमले समुदायलाई जिम्मेवार बनाउने, विद्यालयलाई पारदर्शी बनाउने र बालबालिकालाई सशक्त बनाउने काम गर्छ।
विद्यालयका शिक्षकले पनि भने, “हामी अब विद्यार्थीलाई मात्र ज्ञान दिनेमात्र होइन, उनीहरूबाट पनि सिक्न तयार हुनुपर्छ।”
बर्दिवासको यो बाल संवाद कार्यक्रम ‘प्रयोगात्मक सहभागिता’को सशक्त उदाहरण हो। यसले देखाउँछ कि बालबालिका समस्या होइनन—समाधानका सक्रिय हिस्सेदार हुन्।
यदि यस्ता कार्यक्रमहरू निरन्तरता पाउँछन् भने, शिक्षामा देखिने परिवर्तन केवल तथ्याङ्कीय उपलब्धीमा होइन—सामाजिक संरचनामा पनि देखिनेछ। बर्दिवास नगरपालिकाले त्यसको एउटा इमानदार सुरुवात गरेको छ।





































