आज्ञा खबर
नेपालगंज
बाँकेको सीमावर्ती शहर रुपैडिहाबाट गोवाका लागि गएको बस दुर्घटना हुँदा चार जना नेपालीको मृत्यु भएको छ।
भारतीय पत्रकार नवी अहमदले दिएको जानकारी अनुसार, उत्तर प्रदेशको बाराबंकीमा शनिबार बिहान बस दुर्घटना भएको थियो। बस पन्चर भएपछि सडकको छेउमा रोकेर टायर परिवर्तन गर्दै गर्दा पछाडीबाट तीब्रगतिमा आएको ट्रकले ठक्कर दिएको थियो।
बसमा कति जना सवार थिए भन्ने विवरण नआएपनि चार जनाको मृत्यु भएको र ६ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा दुई जना बाँकेको बिनौना, एक जना दाङको तुलसीपुरको रहेका छन् भने एक जना नेपालीको अझै सनाखत हुन सकेको छैन।
नेपालगञ्जको नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज माधव रिजालले बस दुर्घटना भएर नेपालीको मृत्यु भएको खबर आएको जानकारी दिए।





































