आज्ञा खबर
जनकपुरधाम
हालका दिनमा बढ्दो गर्मीका कारण जनकपुरस्थित जानकी आँखा अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या उल्लेखनीय रूपमा बढेको छ। अस्पतालका अनुसार अहिले दैनिक चारदेखि पाँच सय जनासम्म आँखासम्बन्धी समस्या लिएर उपचारका लागि पुगिरहेका छन्।
यसअघि अस्पतालमा दैनिक औसत तीन सयको हाराहारीमा मात्रै बिरामी आउने गरेका थिए। पछिल्ला केही सातायता तापक्रम बढेसँगै आँखा पोल्ने, एलर्जी, संक्रमण तथा अन्य समस्याका बिरामीको संख्या बढेको अस्पतालले जनाएको छ।
अस्पतालका निर्देशक डा. आशीष बोहराका अनुसार उपचारका लागि आउनेमध्ये बालबालिका र ज्येष्ठ नागरिकको संख्या बढी छ। अत्यधिक गर्मी, धुलो र वातावरणीय प्रभावका कारण आँखा सम्बन्धी समस्या बढ्दै गएको उनको भनाइ छ।
जानकी आँखा अस्पतालमा धनुषासहित सिरहा, महोत्तरी र सिन्धुली जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेका छन्। सीमावर्ती भारतीय राज्य बिहारबाट समेत उल्लेख्य संख्यामा सेवाग्राही अस्पताल पुग्ने गरेका अस्पतालले जनाएको छ।
