रोटरी क्लब अफ बर्दिबासद्वारा रेडक्रस रक्तसञ्चार केन्द्रलाई अत्याधुनिक उपकरण हस्तान्तरण

[sharethis-inline-buttons]

निकेश खनाल

बर्दिबास, महोत्तरी

रोटरी क्लब अफ बर्दिबासले नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखाअन्तर्गत सञ्चालित रक्तसञ्चार केन्द्रको सेवा गुणस्तर तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अत्याधुनिक रक्त बैंक उपकरण हस्तान्तरण गरेको छ।

मंवलबार आयोजित कार्यक्रममा रोटरी फाउन्डेशनको ग्लोबल ग्रान्ट परियोजना GG2465289 अन्तर्गत खरिद गरिएका सात प्रकारका अत्यावश्यक उपकरण नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

हस्तान्तरण गरिएका उपकरणहरूमा डिप फ्रिजर (-४०°से.), २१५ लिटर क्षमताको रक्त बैंक रेफ्रिजेरेटर, इन्क्युबेटरसहित प्लेटलेट एजीटेटर, बेन्च टप ट्युब सिलर, प्लाज्मा एक्सप्रेसर, डुअल प्यान रक्त बैंक इक्वालाइजर तथा रक्त बैंक सेन्ट्रिफ्युज रहेका छन्।

मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री शारदादेबी थापाको प्रमुख आतिथ्यतामा रोटरी क्लब अफ बर्दिबासका अध्यक्ष रोटेरियन इन्द्र प्रसाद ढुङ्गेल र परियोजना संयोजक रोटेरियन विष्णुराज पुरीद्वारा हस्तान्तरीत उपकरणले रक्त तथा रक्त घटक हरूको सुरक्षित भण्डारण, प्रशोधन र व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै बर्दिबास तथा आसपासका समुदायलाई गुणस्तरीय रक्तसञ्चार सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

हस्तान्तरणसँगै नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखाले उपकरणहरूको पूर्ण स्वामित्व तथा जिम्मेवारी ग्रहण गर्दै उत्पादक कम्पनीको निर्देशिका र राष्ट्रिय मापदण्डअनुसार सञ्चालन गर्ने जनाएको छ। त्यस्कासाथै मेशीनको नियमित मर्मतसम्भार तथा क्यालिब्रेसन सुनिश्चित गर्ने, समुदायको हितका लागि मात्र प्रयोग गर्ने तथा राम्रो कार्यशील अवस्थामा संरक्षण गर्ने प्रतिबद्धता जनाएको छ।

रोटरी क्लबले परियोजना सफल बनाउन सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखा, बर्दिबास नगरपालिका, परियोजनाका साझेदार, दाताहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सबैप्रति आभार व्यक्त गर्दै यस सहयोगले सुरक्षित रगत तथा रक्त अवयवको उपलब्धता बढाई जीवन बचाउने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखाका अध्यक्ष भुवन खड्काले उपकरणहरू राम्रो अवस्थामा प्राप्त भएको स्वीकार गर्दै तिनको प्रभावकारी सञ्चालन, नियमित मर्मतसम्भार तथा समुदायको हितमा अधिकतम उपयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...