आज्ञा खबर
रौतहट
केही वर्षअघिसम्म घरायसी कामकाजमा सीमित रहेका रौतहटका धेरै महिलाहरू अहिले आफ्नै व्यवसाय सञ्चालन गर्दै आर्थिक रूपमा आत्मनिर्भर बन्न थालेका छन्। आयआर्जनका गतिविधिमा सक्रिय सहभागिताले उनीहरूको जीवनस्तर मात्र सुधारिएको छैन, आत्मविश्वास र सामाजिक पहिचानसमेत मजबुत बन्दै गएको छ।
चन्द्रपुर नगरपालिका–७ वनबहुअरीकी दुखनी थरुनी यसको एक उदाहरण हुन्। आफ्नै पाँच कठ्ठा जमिनमा व्यावसायिक तरकारी खेती गर्दै आएकी उनले लौका, करेला, घिरौला लगायतका तरकारी उत्पादन गरी दैनिक रु १,५०० देखि २,००० सम्म आम्दानी गरिरहेकी छन्। स्थानीय उपभोक्तालाई बारीबाटै तरकारी बिक्री गर्ने र बाँकी उत्पादन बजारसम्म पुर्याउने गरेको उनले बताइन्।
त्यस्तै, सोही वडाकी दिलकुमारी काफ्ले बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी गर्न सफल भएकी छन् भने सुनिता माझीले किराना पसल सञ्चालन गरेर पारिवारिक खर्च धानिरहेकी छन्। राजपुर नगरपालिका–९ की मिनादेवी व्यावसायिक तरकारी खेतीबाट आम्दानी गर्दै छोराछोरीको शिक्षादेखि घरखर्चसम्म व्यवस्थापन गरिरहेकी छन्। गुलसन खातुनले घरमै टेलरिङ व्यवसाय सञ्चालन गरी स्वरोजगार बनेकी छन् भने राजपुर–५ की जरिमा खातुनले सिलाइ व्यवसायकै आम्दानीबाट आफ्ना छ जना सन्तानलाई शिक्षित बनाउन सफल भएको बताएकी छन्।
यी प्रतिनिधि पात्र मात्र हुन्। जिल्लाका एक हजारभन्दा बढी महिलाले विभिन्न स्वरोजगारमूलक व्यवसायमार्फत आफ्नो आर्थिक अवस्था सुधार्दै आएका छन्। उनीहरू ग्रामीण विकास केन्द्र नेपालद्वारा सञ्चालित सामाजिक तथा आर्थिक सशक्तीकरण कार्यक्रमअन्तर्गत आबद्ध छन्।
इस्लामिक रिलिफ क्यानाडाको आर्थिक सहयोग र इस्लामिक रिलिफ नेपालको व्यवस्थापकीय सहकार्यमा सञ्चालन भइरहेको परियोजनाले राजपुर र चन्द्रपुर नगरपालिकाका १२ वडामा लैङ्गिक हिंसा न्यूनीकरण तथा महिला सशक्तीकरणका कार्यक्रम सञ्चालन गरिरहेको छ।
परियोजना प्रमुख धर्मेन्द्र साहका अनुसार आर्थिक रूपमा कमजोर, हिंसाको जोखिममा रहेका वा हिंसाबाट प्रभावित महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न व्यवसायका लागि प्रतिव्यक्ति रु ६५ हजारसम्म आर्थिक सहयोग उपलब्ध गराइएको छ। चन्द्रपुरका १७ समूहमा आबद्ध ४३० जना र राजपुरका २३ समूहमा आबद्ध ५८० भन्दा बढी महिलाले यसबाट प्रत्यक्ष लाभ लिएका छन्।
आर्थिक सहयोगसँगै महिलाहरूलाई व्यवसाय व्यवस्थापन, वित्तीय साक्षरता, नेतृत्व विकास तथा सीपमूलक तालिम प्रदान गरिँदै आएको छ। परिवारभित्रको सकारात्मक व्यवहार र लैङ्गिक समानता प्रवर्द्धन गर्न पुरुष सदस्यहरूलाई समेत सचेतनामूलक कार्यक्रममा सहभागी गराइँदै आएको छ।
परियोजनाले किशोरीहरूको क्षमता विकासलाई पनि प्राथमिकता दिएको छ। चन्द्रपुरका पाँच वडामा १० तथा राजपुरका सात वडामा १४ सामुदायिक सिकाइ तथा संरक्षण केन्द्र सञ्चालनमा रहेका छन्। ती केन्द्रमार्फत हालसम्म करिब २,४०० बालबालिकाले रूपान्तरणमूलक तालिम पूरा गरिसकेका छन्।
ग्रामीण विकास केन्द्र नेपालका अध्यक्ष पारस हुसेनका अनुसार आर्थिक सशक्तीकरणसँगै सामाजिक रूपान्तरणलाई जोड दिँदा महिलाको आत्मनिर्भरता बढ्नुका साथै लैङ्गिक हिंसाविरुद्धको सचेतना पनि विस्तार हुँदै गएको छ। उनका अनुसार आयआर्जनका अवसर सिर्जना भएपछि महिलाहरू आफ्ना अधिकारप्रति सचेत बन्दै समाजमा नेतृत्वदायी भूमिकासमेत निर्वाह गर्न थालेका छन्।
स्थानीय तह, विकास साझेदार संस्था र समुदायको सहकार्यमा सञ्चालित यस्ता कार्यक्रमले ग्रामीण महिलाको जीवनमा सकारात्मक परिवर्तन ल्याउनुका साथै लैङ्गिक समानता स्थापना गर्ने अभियानलाई समेत बल पुर्याएको सरोकारवालाहरूको भनाइ छ।






