विपन्न बालबालिकाकालागि बर्दिवास नगरपालिकाको शिक्षाको उज्यालोतर्फ नयाँ पाइला

[sharethis-inline-buttons]

आज्ञा खबर

बर्दिवास

महोत्तरीको बर्दिवास नगरपालिकाले शिक्षाबाट टाढा रहेका विपन्न तथा असहाय बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने उद्देश्यसहित महत्वपूर्ण सामाजिक पहल थालेको छ। यसकालागि नगरपालिकाले बर्दिवास–१ स्थित देउराली माध्यमिक विद्यालयमा निःशुल्क छात्रावास सञ्चालनमा ल्याएको हो।

सोमवार आयोजित विशेष कार्यक्रममा नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले छात्रावासको उद्घाटन गर्दै यो कार्यक्रम केवल भवन सञ्चालन मात्र नभई शिक्षाबाट वञ्चित बालबालिकाको भविष्य निर्माणसँग जोडिएको मानवीय अभियान भएको बताए।

उनले आर्थिक अभाव, अभिभावकको कमी, सामाजिक परिस्थिति वा अन्य कारणले विद्यालयको पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउनु स्थानीय सरकारको दायित्व भएको उल्लेख गरे। “नगरभित्र कुनै पनि बालबालिका केवल गरिबी वा आन्य परिस्थितिका कारण शिक्षाबाट वञ्चित हुनुहुँदैन,” उनले भने, “त्यस्ता बालबालिकाको खोजी गरी उनीहरूलाई निःशुल्क शिक्षा र सुरक्षित आवासको व्यवस्था गर्ने उद्देश्यले छात्रावास सञ्चालन गरिएको हो।”

नगरप्रमुख क्षेत्रीका अनुसार छात्रावास सञ्चालनका सम्पूर्ण खर्च नगरपालिकाले आफ्नै आर्थिक स्रोतबाट व्यवस्थापन गर्नेछ। उनले शिक्षा समाज रूपान्तरणको प्रमुख आधार भएकाले बर्दिवास नगरपालिकाले शैक्षिक क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए।

उनले छात्रावासले विशेषगरी विपन्न, असहाय तथा अभिभावकविहीन बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। “शिक्षा पाउने अवसरबाट कोही पनि बालबालिका वञ्चित नहोस् भन्ने हाम्रो प्रयास हो,” उनले थपे।

कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारी ले बर्दिवास नगरपालिकाले शैक्षिक क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै विभिन्न योजनाहरू सञ्चालन गरिरहेको जानकारी दिए।

उनले सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार सुधारसँगै शिक्षाको गुणस्तर अभिवृद्धिमा पनि नगरपालिका केन्द्रित रहेको बताए। विद्यार्थीको क्षमता विकास, मूल्याङ्कन प्रणालीमा सुधार, डिजिटल प्रविधिको प्रयोग तथा अतिरिक्त क्रियाकलापलाई जोड दिएर सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी र प्रभावकारी बनाउने प्रयास भइरहेको उनको भनाइ थियो।

त्यसैगरी कार्यक्रममा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेश का अध्यक्ष हिरालाल गौतम ले देउराली माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा आफूहरूले विगतदेखि सहयोग गर्दै आएको बताए। उनले आगामी दिनमा पनि विद्यालयले सञ्चालन गर्ने सामाजिक तथा शैक्षिक गतिविधिमा निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरे।

विद्यालयका प्रधानाध्यापक कुमार धिमिरे ले छात्रावासमार्फत विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने अभियानलाई प्रभावकारी रूपमा अघि बढाइने बताए।

उनका अनुसार छात्रावासमा विपन्न तथा असहाय बालबालिकाका लागि निःशुल्क खान, बस्न र अध्ययन गर्ने व्यवस्था गरिएको छ। “शिक्षाबाट टाढा रहेका बालबालिकालाई विद्यालयसँग जोड्ने हाम्रो लक्ष्य हो,” उनले भने, “यो केवल छात्रावास होइन, उनीहरूको भविष्य निर्माण गर्ने आधार हो।”

कार्यक्रममा शिक्षाक्षेत्रमा लामो समय योगदान पुर्‍याएर सेवा निवृत्त भएका बर्दिवास नगरपालिका शिक्षा शाखाका उपसचिव गणेश दहाल लाई खादा, अबिर तथा प्रशंसापत्रसहित सम्मान गरिएको थियो।

स्थानीय सरकारद्वारा सञ्चालनमा ल्याइएको यो छात्रावासलाई बर्दिवासको शैक्षिक तथा सामाजिक क्षेत्रमा नयाँ आशाको रूपमा हेरिएको छ। अझै पनि आर्थिक अभाव, पारिवारिक समस्या र सामाजिक कारणले विद्यालय जान नसकेका बालबालिकाका लागि यो पहल अवसरको नयाँ ढोका बन्न सक्ने विश्वास गरिएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...