आज्ञा खबर
बारा
वीरगञ्जबाट सुरु गरिएको ‘जाउँ है पोखरा’ अभियानले यसपटक पर्यटन पूर्वाधारको महत्वपूर्ण पाटो—सिधा हवाई सञ्जाल विस्तार—लाई केन्द्रमा राखेको छ। अभियानमा सहभागी पोखराका पर्यटन व्यवसायीहरूले सिमरासम्म सिधा उडान नहुँदा पर्यटक आवागमनमा समस्या भइरहेको भन्दै यसलाई पुनः सञ्चालन गर्नुपर्ने माग अघि सारेका छन्।
वीरगञ्जमा आयोजित अन्तरक्रियामा व्यवसायीहरूले पोखरा–सिमरा सिधा हवाई सेवा विगतमा सञ्चालनमा रहे पनि पछि बन्द भएको स्मरण गर्दै त्यसको पुनः सुरुवातले विशेषगरी भारतीय पर्यटकलाई सहजता दिने बताएका थिए। उनीहरूका अनुसार स्थलमार्ग अहिले केही सहज भए पनि समय र सुविधाका हिसाबले हवाई सेवा अझै आवश्यक छ।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटन क्षेत्रले विगतमा द्वन्द्व, भूकम्प, नाकाबन्दी, कोभिड महामारीदेखि बैंकको उच्च ब्याजसम्मका अनेक चुनौती झेलेको उल्लेख गर्दै अब पुनरुत्थानका लागि ठोस पहल आवश्यक भएको बताए। उनले सिधा हवाई सेवा सञ्चालनलाई पर्यटन पुनर्जीवनको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरे।
त्यस्तै, मधेस प्रदेशका पूर्व मन्त्री ओमप्रकाश शर्माले पोखरा–सिमरा उडान रोकिनु पर्यटनका लागि नकारात्मक भएको टिप्पणी गर्दै यसलाई पुनः सञ्चालन गर्न सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने बताए। आवश्यक परे घाटा व्यवस्थापनमा समेत सहकार्य गर्नुपर्ने उनको धारणा थियो।
गण्डकी प्रदेश पर्यटन बोर्डका प्रमुख मणिराज लामिछानेले पोखरालाई उच्चस्तरीय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहज यातायात अत्यावश्यक भएको बताए। उनले विशेषगरी खर्च गर्न सक्ने पर्यटक वर्गलाई लक्षित गर्दै सिधा हवाई सेवा विस्तारले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा सहभागी व्यवसायीहरूले भारतीय तथा तराई मूलका पर्यटकप्रति हुने व्यवहारप्रति पनि असन्तुष्टि जनाए। सिमानाकामा बारम्बार जाँच, पोखरामा सवारी सञ्चालनमा अवरोध, र ट्याक्सी भाडामा असमानता जस्ता समस्याले पर्यटक अनुभवमा असर परेको उनीहरूको भनाइ थियो। सिमानाकामा दिइने प्रज्ञापनपत्र अनलाइनमार्फत उपलब्ध गराउने सुझाव समेत राखियो।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले पर्यटनमैत्री नीति र पूर्वाधार विकासले देशको अर्थतन्त्रमा उल्लेखनीय सुधार ल्याउन सक्ने बताए। उनले भारतीय पर्यटकलाई आकर्षित गर्न नीतिगत सुधार आवश्यक रहेकोमा जोड दिए।
यसैबीच, अभियानकै सन्दर्भमा आगामी चैत २९ देखि बैशाख १ गतेसम्म पोखराको लेकसाइडस्थित फेवाताल किनारमा आयोजना हुने नयाँ वर्ष महोत्सवमा सहभागी हुन निमन्त्रणा दिइएको छ। महोत्सव अवधिमा होटलहरूले आफ्ना दररेटमा २५ प्रतिशतसम्म छुट दिने घोषणा गरिएको छ।
आन्तरिक पर्यटन प्रवर्द्धनलाई दीगो पर्यटनको आधार मान्दै सुरु गरिएको ‘जाउँ है पोखरा’ अभियान २५ वर्षदेखि सञ्चालन हुँदै आएको छ। यस वर्ष अभियानअन्तर्गत विराटनगर, इलाम र हेटौंडामा समेत कार्यक्रम आयोजना गरिनेछ। हाल पोखरामा आन्तरिक पर्यटकको हिस्सा करिब ४० प्रतिशत रहेको तथ्यांक पनि सार्वजनिक गरिएको छ।
