आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवासमा जीवनचक्रमा आधारित सामुदायिक स्वास्थ्य घरदैलो कार्यक्रमको प्रभावकारिता, उपलब्धि र सिकाइहरूबारे अनुभव साटासाट गर्ने उद्देश्यले एक विशेष गोष्ठी सम्पन्न भएको छ। बर्दिवास नगरपालिका को आयोजनामा तथा Possible को सहकार्यमा शुक्रबार आयोजित उक्त गोष्ठीले स्थानीय तहमा स्वास्थ्य सेवा पहुँच विस्तारका व्यावहारिक पक्षहरूलाई उजागर गरेको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले बिपन्न नागरिकको स्वास्थ्यलाई ध्यानदिदै वडा कार्यालयको सिफारीसमा बिपद राहत कोषको रकम प्रदान गरेर नगरवासीको उपचारमा सहयोग गरेको बताए ।
नगरप्रमुख क्षेत्रीले समुदायमा आधारित स्वास्थ्य सेवा अहिलेको आवश्यकता भएको उल्लेख गरे। उनले स्थानीय तहले नागरिकको स्वास्थ्यलाई विकासको आधार मान्दै यस्ता कार्यक्रमलाई निरन्तरता र विस्तार दिने प्रतिबद्धता व्यक्त गरे।
उनले स्वास्थ्य सेवामा पहुँच, रोकथाममुखी अभ्यास र जनचेतना अभिवृद्धि बिना समग्र विकास सम्भव नहुने बताउँदै सामुदायिक स्वास्थ्य मोडललाई दिगो रूपमा अघि बढाइने धारणा राखे।
समुदायमै पुग्ने स्वास्थ्य सेवा : कार्यक्रमको मूल मर्म
जीवनचक्रमा आधारित सामुदायिक स्वास्थ्य घरदैलो कार्यक्रमको मुख्य उद्देश्य नागरिकलाई स्वास्थ्य संस्थासम्म आउन पर्खनु होइन, स्वास्थ्य सेवालाई नागरिकको घरदैलोमै पुर्याउनु हो। विशेषगरी गर्भवती महिला, नवजात शिशु, किशोर–किशोरी, दीर्घरोगी तथा ज्येष्ठ नागरिकलाई लक्षित गर्दै सामुदायिक नर्समार्फत प्रत्यक्ष परामर्श, परीक्षण, स्वास्थ्य शिक्षा तथा आवश्यक सन्दर्भ सेवाको व्यवस्था गर्दै आएको कार्यक्रमले स्थानीय स्तरमा स्वास्थ्य सेवाको नयाँ अभ्यास स्थापित गरेको सहभागीहरूले बताएका छन्।
गोष्ठीमा कार्यक्रमको परिचय, कार्यान्वयन प्रक्रिया, उपलब्धि तथा चुनौतीहरूबारे प्रस्तुतिहरू राखिएका थिए। कार्यान्वयनात्मक अध्ययनले देखाएको प्रभावकारिता, लागत–प्रभावशीलता (economic burden) सम्बन्धी विश्लेषण, समुदायको धारणा तथा व्यवहार परिवर्तनमा देखिएका सकारात्मक संकेतहरूबारे विस्तृत छलफल भएको सामुदायिक स्वास्थ्य अधिकृत कोश्मिका हमालले जानकारी दिइन्।
नसर्ने रोग र मानसिक स्वास्थ्यमा केन्द्रित सेवा विस्तार
कार्यक्रमले मातृ–शिशु स्वास्थ्य सेवामा मात्र सीमित नभई नसर्ने रोग (Non-Communicable Diseases) तथा मानसिक स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेको छ। मधुमेह, उच्च रक्तचाप, मोटोपना, जीवनशैलीजन्य समस्या र मानसिक तनावजस्ता चुनौतीहरू समुदायमै पहिचान गरी समयमै परामर्श र निगरानी गर्ने अभ्यासले दीर्घकालीन स्वास्थ्य जोखिम न्यूनीकरणमा सहयोग पुगेको निष्कर्ष प्रस्तुत गरिएको थियो।
सहभागीहरूले समुदायमा स्वस्थ व्यवहार प्रवर्द्धन—जस्तै नियमित व्यायाम, सन्तुलित आहार, मानसिक सन्तुलन, धूम्रपान तथा मदिरा नियन्त्रण—जस्ता विषयमा नर्सहरूको प्रत्यक्ष संवादले उल्लेखनीय व्यवहार परिवर्तन ल्याएको अनुभव सुनाएका थिए।
समुदायको विश्वास जित्दै स्वास्थ्य प्रणाली सुदृढ
गोष्ठीमा प्रस्तुत अनुभवहरू अनुसार घरदैलो कार्यक्रमले स्वास्थ्य प्रणालीप्रतिको समुदायको विश्वास बढाएको छ। स्वास्थ्य संस्था जान हिच्किचाउने, आर्थिक वा भौगोलिक कारणले सेवा नपाउने नागरिकहरू अहिले नियमित निगरानी र परामर्शको दायरामा आएका छन्।
सामुदायिक स्वास्थ्य नर्स तथा प्राथमिक स्वास्थ्य सेवा प्रदायकहरूले आफ्नो अनुभव साझा गर्दै घरमै पुगेर सेवा दिनु केवल उपचार नभई “सम्बन्ध निर्माण” को प्रक्रिया भएको बताए। यसले स्वास्थ्य सेवा र समुदायबीचको दूरी घटाउँदै स्थानीय स्वास्थ्य प्रणालीलाई अझ उत्तरदायी बनाएको उनीहरूको भनाइ थियो।
सफलताका कथाले कार्यक्रमको प्रभाव देखायो
गोष्ठीमा केही प्रेरणादायी ‘सक्सेस स्टोरी’हरू पनि प्रस्तुत गरिएका थिए। दीर्घरोगको जोखिममा रहेका व्यक्तिहरू नियमित निगरानी र परामर्शबाट स्वस्थ जीवनशैलीमा फर्किएको, गर्भवती महिलाले समयमै परीक्षण पाई सुरक्षित मातृत्व सुनिश्चित भएको तथा मानसिक स्वास्थ्य समस्यामा रहेका व्यक्तिहरूले परामर्शबाट सुधार अनुभव गरेको उदाहरणहरू उल्लेख गरियो।
यी घटनाहरूले स्वास्थ्य सेवा केवल उपचार केन्द्रित नभई रोकथाम, परामर्श र जीवनशैली सुधारमा आधारित हुनुपर्ने अवधारणालाई बलियो बनाएको सहभागीहरूले बताएका थिए।
अवसर, चुनौती र आगामी दिशा
छलफलका क्रममा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन आवश्यक स्रोत–साधन, जनशक्ति व्यवस्थापन, तथ्यांक प्रणाली सुदृढीकरण तथा स्थानीय सरकार र समुदायबीच सहकार्य बढाउनुपर्ने सुझावहरू आएका थिए। स्वास्थ्य सेवा विकेन्द्रीकरणको सन्दर्भमा यस्तो मोडल अन्य पालिकाहरूमा पनि विस्तार गर्न सकिने सम्भावनाबारे समेत बहस भएको थियो।
बर्दिवासमा सम्पन्न उक्त गोष्ठीले स्वास्थ्य सेवा प्रणालीलाई संस्थागत ढाँचाबाट समुदाय केन्द्रित मोडलतर्फ रूपान्तरण गर्ने अभ्यासलाई थप मजबुत बनाएको छ। जीवनचक्रमा आधारित घरदैलो कार्यक्रमले स्वास्थ्य सेवा पहुँच, व्यवहार परिवर्तन, रोग रोकथाम र समुदाय–सरकार सहकार्यलाई एकैसाथ अघि बढाउने प्रभावकारी उपायका रूपमा आफूलाई स्थापित गर्दै गएको सहभागीहरूको निष्कर्ष छ।





































