आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिबास पुनः एकपटक सांस्कृतिक र आर्थिक गतिविधिको चलायमान केन्द्र बन्ने तयारीमा छ। यहाँ “आदिवासी जनजाति महोत्सवको पाँचौं संस्करण २०८३” आयोजना हुने भएको छ, जसले महोत्तरी जिल्लामा बसोबास गर्ने विविध जनजातिहरूको मौलिक पहिचानलाई उजागर गर्ने अपेक्षा गरिएको
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् महोत्तरीले बुधवार बर्दिवासमा पत्रकार सम्मेलनको आयोजना गरेर जनाएको छ।
महोत्सब यही वैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने महोत्सव बर्दिबास नगरपालिका–१४ स्थित हाल रहेको शुभ स्वस्तिक अस्पतालको पछाडी रहेको खुल्ला मैदानमा सञ्चालन हुनेछ। आयोजकका अनुसार यो महोत्सव केवल मनोरञ्जनको माध्यम मात्र नभई आदिवासी जनजातिहरूको ऐतिहासिक परम्परा, भाषा, भेषभूषा,कला र संस्कृतिलाई संरक्षण तथा प्रवद्र्धन गर्ने एउटा सशक्त अभियान समेत हो।
महोत्सवमा महोत्तरीमा बसोबास गर्ने थारु, मगर, तामाङ, राई, गुरुङ, नेवार, भुजेल, माझी लगायत करिब १० जातीय समुदायका मौलिक संस्कृति प्रस्तुत गरिनेछ। साथै महोत्सबमा परम्परागत नृत्य, भेषभूषा, सांस्कृतिक प्रस्तुति र स्थानीय खानाका परिकारहरूले महोत्सवलाई जीवनतता दिनेछन्। यसले नयाँ पुस्तालाई आफ्नो जरा चिनाउने र सांस्कृतिक विविधताको सम्मान गर्न प्रेरित गर्ने विश्वास गरिएको छ।
महोत्सव स्थलमा करिब १५० वटा स्टल रहनेछन्, जसमध्ये १५ स्टल जनजातिको संस्कृति र भेषभूषा प्रदर्शनका लागि छुट्याइएको छ। बाँकी स्टलहरूमा स्थानिय कृषि तथा औद्योगिक उत्पादनलाई प्राथमिकता दिँदै निःशुल्क उपलब्ध गराइने व्यवस्था गरिएको छ भने स्थानीय व्यापारीलाई ब्यवसायगर्न स्टल भाडामा २० प्रतिशत छुट प्रदान गरिनेछ। यसले स्थानीय अर्थतन्त्र चलायमान बनाउने र किसान तथा उद्यमीलाई बजार पहुँचमा विस्तार गर्ने अवसर दिने अपेक्षा गरिएको छ।
नेपाल आदिवासी जनजाति महासंघ महोत्तरी जिल्ला समन्वय परिषदका अध्यक्ष धननारायण श्रेष्ठका अनुसार महोत्सवमा करिब ६० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ। दर्शकलाई आकर्षित गर्न स्थानीय कला संस्कृतिका प्रस्तुति मात्र नभई राष्ट्रिय स्तरका कलाकारहरूको सहभागितामा सांगीतिक कार्यक्रम पनि सञ्चालन गरिनेछ। विशेषगरी युवापुस्ताका लागि लन्डन ब्रिज, आइफिल टावर,बाल उद्यान जस्ता मनोरञ्जनात्मक संरचनाहरू तयार गरिने छन्।
महोत्सवको प्रवेश शुल्क प्रति व्यक्ति ८० रुपैयाँ तोकिएको छ भने शनिबार विद्यार्थीलाई ५० प्रतिशत छुट र ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई परीचय खुल्ने परीचयपत्रको आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। यसले सबै वर्ग र समुदायको सहभागिता सुनिश्चित गर्ने प्रयास गरेको देखिन्छ।
आर्थिक पक्षमा हेर्दा, महोत्सवबाट करिब ४० लाख रुपैयाँ आम्दानी र ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। बचत रकम जनजातिको उत्थान तथा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद महोत्तरीले सामाजिक विकासका क्षेत्रमा लगानी गर्ने जनाइएको छ।
महोत्सबमा सुरक्षा र व्यवस्थापनलाई बिशेष ध्यानमा राख्दै सुरक्षा निकायसँग समन्वय गरी स्वयंसेवक समेत परिचालन गर्ने तयारी पनि गरिएको छ। आयोजकले महोत्सवलाई सफल बनाउन स्थानीयवासी, राजनीतिक दल, व्यापारी, बुद्धिजीवी, सञ्चारकर्मी लगायत सम्पूर्ण सरोकारवालासँग सहकार्यका लागि अपिल गरेको छ।
समग्रमाहेर्दा “आदिवासी जनजाति महोत्सव २०८३” केवल एउटा उत्सवमात्रै नभई महोत्तरीको आदिबासी जनजातीको सांस्कृतिक पुनर्जागरण, सामाजिक एकता र स्थानीय आर्थिक विकासको साझा मञ्च बन्ने संकेत देखिएको छ।





































