नेपाल मगरसंघको ४४औँ स्थापना दिवस : ‘मगरात सभ्यताको दस्तावेजीकरण’को सन्देशसँगै उत्सव

[sharethis-inline-buttons]

 

आज्ञा खबर

बर्दिवास

 मगरात सभ्यताको दस्तावेजीकरण गर्दै लखन सांस्कृतिक संग्रहालय बनाऔँ, सांगठनिक उत्सवका रूपमा मगरसंघको ४४औँ स्थापना दिवस मनाऔँ” भन्ने मूल नारासहित शुक्रबार महोत्तरीको बर्दिवास नगरपालिका–८, हतिलेटमा मगर दिवस उत्साहका साथ मनाइएको छ।

कार्यक्रमको आयोजना नेपाल मगरसंघ महोत्तरीले गरेको थियो। दिवस केवल औपचारिकता मात्र नभई, मगर समुदायको इतिहास, सभ्यता र सांस्कृतिक पहिचानलाई संस्थागत रूपमा दस्तावेजीकरण गर्ने संकल्पका रूपमा प्रस्तुत गरिएको आयोजकको भनाइ थियो।

संस्कृति जोगाउने प्रतिबद्धता

कार्यक्रमका प्रमुख अतिथि जगत रेश्मी मगर (केन्द्रीय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख) ले मगरात सभ्यता संरक्षण आजको प्रमुख दायित्व भएको उल्लेख गरे। उनले भने,

“हाम्रो भाषा, भेषभूषा, संस्कार र परम्परालाई पुस्तान्तरण गर्न संग्रहालयजस्ता स्थायी संरचना अपरिहार्य छन्। लखन सांस्कृतिक संग्रहालय निर्माण अभियानले समुदायलाई एकताबद्ध बनाउनेछ।”

उनका अनुसार, इतिहासलाई मौखिक परम्परामा सीमित नराखी लिखित र दृश्य सामग्रीमार्फत भावी पुस्तासम्म पुर्‍याउनु आजको आवश्यकता हो।

स्थानीय सरकारको साथ

कार्यक्रममा बिशिष्ट अतिथिका रूपमा प्रह्लाद कुमार क्षेत्री (नगर प्रमुख, बर्दिवास नगरपालिका) तथा डा. दिपेन्द्र महतो (नगर प्रमुख, गौशला नगरपालिका) सहभागी थिए।

दुवै नगरप्रमुख लाई मगर संघले  मगर समुदाय को सामाजिक सद्भाव, सांस्कृतिक विविधता र स्थानीय विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै सम्मानपत्र प्रदान  गरे र मगर पोशाक पहिर्याईएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख क्षेत्रीले मगर समुदायको हक–हित र उत्थानका लागि नगरपालिका सधैं सहकार्य गर्न तयार रहेको बताए। उनले विविध जातजातिको सहअस्तित्वले नै सामाजिक संरचना सुदृढ बनेको धारणा राखे।

सार्वजनिक बिदासहित उल्लास

मगर दिवसको अवसरमा बर्दिवास र गौशला दुवै नगरपालिकाले सार्वजनिक बिदा दिएको नगर स्रोतले जनाएको छ। यसले दिवसलाई केवल समुदायको सीमित कार्यक्रममा नभई, स्थानीय तहको साझा उत्सवका रूपमा स्थापित गरेको देखिन्छ।

दिवसमा परम्परागत मगर पोशाक, सांस्कृतिक नृत्य र सामूहिक भेला विशेष आकर्षणका रूपमा देखिएका थिए। युवापुस्ताको सक्रिय सहभागिताले संस्कृति संरक्षण अभियानप्रति नयाँ पुस्ताको चासो बढ्दै गएको संकेत दिएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...