बर्दिवासमा खानेपानी, सरसफाई तथा स्वच्छता योजनाबारे कार्यशाला गोष्ठी सम्पन्न

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिवासमा खानेपानी, सरसफाई तथा स्वच्छता (वास) योजनालाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यशाला गोष्ठी तथा बैठक सम्पन्न भएको छ। बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमले स्थानीय तहमा सुरक्षित खानेपानी र स्वच्छ वातावरण सुनिश्चित गर्ने योजनालाई अद्यावधिक गर्ने दिशामा महत्वपूर्ण छलफल गरेको हो।

मधेश प्रदेश ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, बर्दिवास नगरपालिका र एस.एन.भि. बीच भएको समझदारी पत्रअनुसार वास योजना अद्यावधिक गर्ने सन्दर्भमा यो कार्यशाला गोष्ठी आयोजना गरिएको हो। कार्यक्रममा मन्त्रालयकी प्रिजेन्टर आरती बुढाथोकीले प्रस्तुतिकरण गर्दै स्थानीय तहमा खानेपानी, सरसफाई तथा स्वच्छताको अवस्था सुधार गर्न योजना निर्माण र कार्यान्वयनलाई व्यवस्थित बनाउने उद्देश्यले गोष्ठी आयोजना गरिएको जानकारी दिइन्।

कार्यशालामा बर्दिवास नगरपालिकाभित्र हाल रहेको खानेपानी, सरसफाई तथा स्वच्छताको अवस्थाबारे तथ्यांक संकलन गर्ने योजनाको बिषयमा प्रस्तुतिकरण गरिएको थियो। साथै नगरपालिकाले तयार पार्ने वास योजना, योजना तर्जुमा गर्ने प्रक्रिया, प्राथमिकिकरणका आधारहरू तथा स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीसँग वास योजनाको सम्बन्धबारे विस्तृत छलफल भएको थियो।
गोष्ठीमा सहभागी सरोकारवालाहरूले स्थानीय स्तरमा सुरक्षित खानेपानीको पहुँच विस्तार, सरसफाई व्यवस्थापन सुधार तथा स्वच्छ वातावरण निर्माणका लागि योजना निर्माण गर्दा स्थानीय आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएका थिए। विशेष गरी दिगो विकास लक्ष्यअनुरूप नगरपालिकाले दीर्घकालीन योजना बनाउँदै कार्यान्वयन गर्नुपर्ने विषयमा समेत सहभागीहरूबीच विचार आदान–प्रदान भएको थियो।

कार्यक्रममा बर्दिवास नगरपालिकाकी उपप्रमुख तारादेवी महतो, प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारी, नगरपालिकाभित्रका विभिन्न वडाका वडा अध्यक्षहरू तथा सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

बैठकमा नगरपालिकाका सुचना प्रबिधि अधिकृत सोम फुयाँलको बिशेश भुमिका रहेको

प्रिजेन्टर आरती बुढाथोकीले जानकारी दिईन। उनका अनुसार बर्दिवासमा खानेपानी, सरसफाई तथा स्वच्छता (वास) योजनालाई थप प्रभाबकारी बनाउन र सफल कार्यान्वयन गर्न उप प्रमुख तारादेबी महतोको संयोजकत्वमा ५ सदस्य खानेपानी, सरसफाई तथा स्वच्छता कार्यदल समेत गठन गरीएको छ । जस्मा नगरपालिकाकी ईन्जिनियर मोनिका कार्कीलाई वास फोकल पर्सनको जिम्मेवारी दिईएको हो। शुक्रवार नगरपालिकाको सभाहलमा भएको कार्यशाला  बाट प्राप्त सुझाव र छलफलका निष्कर्षलाई आधार मानेर बर्दिवास नगरपालिकाको खानेपानी, सरसफाई तथा स्वच्छता योजना अद्यावधिक गरिनेछ। यसले नगरपालिकाभित्र सुरक्षित खानेपानीको पहुँच विस्तार गर्नुका साथै सरसफाई र स्वच्छताका क्षेत्रमा दीर्घकालीन सुधार ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

स्थानीय तहमा स्वच्छता र खानेपानी व्यवस्थापनलाई सुदृढ बनाउने उद्देश्यले आयोजित यस कार्यक्रमले जनस्वास्थ्य सुधार र दिगो विकासका लक्ष्य हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...