आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास–४, गौशाला चोकस्थित गढन्ता बर्दिवास साझेदारी बन उपभोक्ता समूहको चौथो वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ। स्थानीय समुदाय, वनप्रेमी तथा सरोकारवालाको उल्लेखनीय सहभागितामा सम्पन्न उक्त सभा केवल औपचारिक कार्यक्रम मात्र नभई वन संरक्षण र समुदायबीचको सहकार्यलाई पुनः स्मरण गराउने महत्वपूर्ण अवसरका रूपमा देखिएको थियो।

समूहका अध्यक्ष राम छबिला यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक समीक्षा प्रस्तुत गरिनुका साथै आगामी कार्ययोजनासमेत सार्वजनिक गरिएको आयोजकले जनाएको छ। समीक्षा प्रतिवेदनले विगत वर्षमा समूहले हासिल गरेका उपलब्धि, सामना गरेका चुनौती तथा आगामी दिनमा लिनुपर्ने रणनीतिक कदमहरूबारे स्पष्ट चित्र प्रस्तुत गरेको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले वन र मानव जीवनबीचको सम्बन्ध अत्यन्त गहिरो र परस्पर पूरक रहेको उल्लेख गरे। “वन बिना मानव जीवन असम्भव छ, र मानवको संरक्षणबिना वनको दीगो अस्तित्व पनि सम्भव छैन,” उनीहरूको साझा धारणा थियो। वक्ताहरूले वृक्षारोपण, वन संरक्षण तथा जैविक विविधताको जगेर्नामा स्थानीय समुदायको सक्रिय भूमिका अपरिहार्य रहेकोमा जोड दिए।

साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले आफ्नो कार्यकालमा वन संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न सचेतनामूलक कार्यक्रम, वृक्षारोपण अभियान तथा अवैध कटानी नियन्त्रणका प्रयासहरू गरिएको बताए। उनले समुदायको साथ र सहयोगकै कारण वन क्षेत्रको संरक्षणमा सकारात्मक परिवर्तन देखिएको उल्लेख गरे।
“हामीले वनलाई केवल स्रोतका रूपमा होइन, भावी पुस्ताका लागि सम्पत्तिका रूपमा हेर्नुपर्छ,” अध्यक्ष यादवले भने, “वन जोगाउनु हाम्रो दायित्व मात्र होइन, भविष्यप्रतिको जिम्मेवारी पनि हो।”
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले पनि वन संरक्षणमा आफ्नो प्रतिबद्धता दोहोर्याएका थिए। उनीहरूले सामुदायिक वनको व्यवस्थापनमा पारदर्शिता, सहभागिता र उत्तरदायित्वलाई अझ मजबुत बनाउँदै लैजानुपर्ने धारणा राखे।
साधारणसभाले आगामी वर्षका लागि वृक्षारोपण विस्तार, वन क्षेत्रको अनुगमन सुदृढीकरण, वनजन्य उद्यम प्रवद्र्धन तथा वातावरणीय सचेतना अभिवृद्धि गर्ने योजनाहरू अघि सारेको छ।

यस प्रकारका कार्यक्रमहरूले स्थानीय स्तरमा वन संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै समुदाय र प्रकृतिबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ।
