रुपनीको खोलामा भेटिएको विस्फोटकले बालबालिकाको वनभोज त्रासमा बदलियो

[sharethis-inline-buttons]

आज्ञा खबर
सप्तरी

सप्तरीको रुपनी गाउँपालिका–६ मा बालबालिकाको रमाइलो वनभोज एकाएक दुर्घटनामा परिणत भएको छ। दुधैला खोलाको किनारमा भेटिएको अज्ञात विस्फोटक पदार्थ पड्किँदा चार जना बालक घाइते भएका छन्।

स्थानीयका अनुसार शनिबार केही बालकहरू खोलामा खेल्ने क्रममा फलामे रकेट जस्तो देखिने वस्तु भेटिएको थियो। खेलौना ठानेर उक्त वस्तु दाउरासँगै संकलन गरी अस्थायी चुल्हो नजिक राखिएको केही समयपछि ठूलो आवाजसहित विस्फोट भएको हो।

घटनामा ९ देखि १६ वर्ष उमेर समूहका चार बालक घाइते भएका छन्। विस्फोटका कारण उनीहरूको खुट्टा र शरीरका विभिन्न भागमा छर्राले चोट पुर्‍याएको प्रहरीले जनाएको छ। विस्फोटबाट स्थानीय साजन आले मगरका ११ वर्षीय छोरा साहस, मनोज थापा मगरका ९ वर्षीय छोरा प्रशिस, कर्णबहादुर थापा मगरका १६ वर्षीय छोरा कविर र पदमबहादुर विकका १३ वर्षीय छोरा सुरज घाइते भएका हुन्।

घाइतेहरूलाई सुरुमा रुपनीस्थित मधेश प्रदेश प्रहरी अस्पतालमा उपचार गरिएको थियो। त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि राजविराजको छिन्नमस्ता अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार घाइते बालकहरूको अवस्था हाल स्थिर रहेको छ। घटनास्थलमा पुगेर सुरक्षाकर्मीले अनुसन्धान अघि बढाइसकेका छन् भने खोलामा कसरी र कहिले उक्त विस्फोटक वस्तु आइपुग्यो भन्ने विषयमा खोजी भइरहेको छ।

प्रहरीले स्थानीयलाई खोलानाला र खुला स्थानमा भेटिने शंकास्पद वस्तु नछुन र तत्काल सुरक्षाकर्मीलाई जानकारी गराउन आग्रह गरेको छ।

 

 

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...