समुदायसँग प्रहरीको साझेदारी ः चाडपर्वमा यात्रु सहजताका लागि सहायताकक्ष

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
“समुदायमा प्रहरी साझेदारी“ भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले चाडपर्वलाई लक्षित गर्दै यात्रु सहायताकक्ष सञ्चालनमा ल्याएको छ। दशैं, तिहार र छठजस्ता ठूलो चाडपर्वका बेला यात्रुहरूको सुरक्षित, सहज र व्यवस्थित आवागमन सुनिश्चित गर्न आईतबारदेखि बर्दिवासलगायत जिल्लाका विभिन्न ठाउँमा यात्रु सहायताकक्ष सञ्चालन गरिएको हो।
बर्दिवास नगरपालिका–१को सिन्धुलीचोक, बर्दिवास–३को गौरी डाँडा,बर्दिवास ४ को माईस्थान, गौशाला, रामगोपालपुर, जलेश्वरसहित जिल्लाका ६ स्थानमा स्थापना गरिएका सहायताकक्षलाई बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले एक विशेष कार्यक्रमका बीच उद्घाटन गरे।

यात्रु सुरक्षा र सहजतामा प्रहरीको प्राथमिकता

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख क्षेत्रीले प्रहरी–समुदाय साझेदारीको यस्तो पहललाई यात्रुहरूको सुरक्षा र सहुलियतका लागि महत्वपूर्ण कदम भएको बताए। “चाडपर्वमा यात्रा गर्ने यात्रुको चाप असाधारण हुन्छ। यस्ता बेला दुर्घटना न्यूनीकरण, यात्रुको सहज आवागमन र सुरक्षाको प्रत्याभूति गर्नु प्रहरीको जिम्मेवारी मात्र होइन, स्थानीय सरकारको प्राथमिकता पनि हो,“ क्षेत्रीले भने।

उनका अनुसार सहायताकक्षले यात्रुका समस्या सुन्ने, तत्काल जानकारी दिने, भाडा निगरानी गर्ने, स्वास्थ्य सहयोग र आकस्मिक अवस्थाको व्यवस्थापन गर्न सक्ने गरी सञ्चालन गर्न समेत निर्देशन दिए।

प्रहरीको अभियान ः साझेदारी र सेवा

जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक लक्षमीराज जोशीले सहायताकक्षबाट यात्रुलाई प्रत्यक्ष लाभ हुने अपेक्षा राखेका छन्। यात्रु सहायताकक्षमा खटिएका प्रहरी कर्मचारीहरूले यात्रुलाई सहयोग गर्ने, अत्यधिक भाडा असुल्न नदिने, हराएका सामान फिर्ता गराउने, दुर्घटना न्यूनीकरणका लागि जनचेतना फैलाउने काम गर्नेछन्।

यसैगरी, लामो यात्रामा निस्कनु अघि सवारी चालक र यात्रुलाई सडक सुरक्षा नियमहरू पालनामा सचेत गराइने जनाइएको छ।

स्थानीय स्तरमा सकारात्मक प्रभाव

स्थानीय व्यापारी, यातायात व्यवसायी र सर्वसाधारणले पनि सहायताकक्ष सञ्चालनलाई स्वागत गरेका छन्। बर्दिवासको सिन्धुलीचोकमा भेटिएका यात्रीहरूका अनुसार यस्तो सहायताकक्षले यात्रामा सहजता मात्रै होइन, विश्वास पनि दिलाउँछ। “पहिले त चाडपर्वमा बस चढ्न नै गाह्रो हुन्थ्यो, भाडा मनपरी हुने गथ्र्यो। अहिले प्रहरीको उपस्थिति र सहायताकक्षले धेरै सहज हुने बिश्वास लिएको छु,“ बर्दिवासका एक यात्रुले भने।

चाडपर्वसँग जोडिएको सुरक्षा सन्देश

दशैं, तिहार र छठ नेपालका प्रमुख चाडपर्व हुन्। यस अवधिमा सडकमा सवारी साधनको चाप असामान्य हुने गर्दछ। दुर्घटना, चोरी र यात्रु ठगीजस्ता घटना पनि बढ्ने जोखिम हुन्छ। त्यस्ता जोखिम न्यूनीकरण गर्न प्रहरी–समुदायको संयुक्त प्रयास आवश्यक हुन्छ।

सहायताकक्षले यात्रुलाई सुरक्षित यात्रा मात्र नभई, ‘समुदायमा प्रहरी साझेदारी’ भन्ने भावनालाई पनि सुदृढ बनाउने बिश्वास लिईएको छ। जस्का कारण प्रहरी र स्थानीय सरकारबीचको सहकार्यले सुरक्षित समाज निर्माणतर्फको बाटो खोलेको देखिन्छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...